पोखरा, १५ माघ । नेपालमा बसाइँसराइको गति पछिल्लो समय तीव्र रूपमा बढिरहेको छ। ग्रामीण भेगका बासिन्दाहरू शिक्षादिक्षा, स्वास्थ्य र रोजगारीका खोजीमा सहरतर्फ उन्मुख हुँदा गाउँबस्तीहरू रित्तिँदै गएका छन्। विगतमा भौतिक पूर्वाधार र सामाजिक सेवाको अभावमा गाउँ छोड्ने चलन थियो भने अहिले आधुनिक सुविधाको पहुँच भएका गाउँहरूबाट समेत मानिसहरू अन्यत्र सर्ने क्रम रोकिएको छैन।

राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ मा गरेको जनगणनाले देखाएअनुसार, नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मध्ये ६६ प्रतिशतभन्दा बढी अर्थात् १ करोड ९२ लाखभन्दा धेरै जनसंख्या नगरपालिकामा बसोबास गर्ने गरेको छ। ग्रामीण क्षेत्रमा ३४ प्रतिशत जनसंख्या मात्रै बसोबास गर्छ। यो तथ्यले ग्रामीण क्षेत्रका मानिसहरू सहरी क्षेत्रमा झन् बढी आकर्षित हुँदै गएको स्पष्ट पार्छ।

बसाइँसराइको मुख्य कारणमा विवाह, रोजगारी, अध्ययन, व्यापार, स्वास्थ्य र प्राकृतिक प्रकोप जस्ता विषयहरू छन्। अध्ययनले देखाएको छ कि ३८ प्रतिशत मानिस विवाहका कारण बसाइँसराइ गर्छन् भने १५ प्रतिशत रोजगारीका लागि गाउँ छोड्छन्। यस्तै, व्यापार–व्यवसाय, आश्रित जीवनशैली र अन्य कारणहरूले पनि सहरी क्षेत्रमा मानिसहरूको चाप बढाएको छ।

युवाहरूको बसाइँसराइ र विदेश पलायनका कारण गाउँमा जनशक्ति अभाव भएको छ। खेतीयोग्य जमिन बाँझो रहनु, उत्पादन क्षमतामा कमी आउनु र ग्रामीण जीवनशैलीमा गम्भीर असर पर्नु यसका उदाहरण हुन्। कृषि तथा पशुपालन क्षेत्रका समस्याहरू, जस्तै जंगली जनावरहरूको आतंक, आधुनिक उपकरणको अभाव र व्यावसायिक खेतीको अभावले पनि ग्रामीण क्षेत्रका मानिसहरूलाई निराश पारेको छ। कृषि मन्त्रालयका तथ्यांकअनुसार देशभर १० लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन अहिले बाँझो छ।

गाउँमा शिक्षा, स्वास्थ्य र अन्य सेवा सुविधामा देखिएको सुधारले दीर्घकालीन विकासको आधार तयार गरे पनि ग्रामीण बासिन्दाहरूलाई तत्कालीन जीवनयापनका लागि चाहिने अवसरहरू भने दिन सकेको छैन। स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति र अत्याधुनिक उपकरणको अभावले गाउँका मानिसलाई सामान्य उपचारका लागि पनि सहर धाउन बाध्य बनाएको छ। त्यस्तै, शिक्षाको गुणस्तर र प्रतिस्पर्धात्मकता ग्रामीण क्षेत्रमा अपेक्षाकृत कमजोर रहेको देखिन्छ।

सहरको चाप बढ्दै जाँदा सहरी क्षेत्रका विभिन्न चुनौतीहरू थपिएका छन्। जनसंख्याको असमान वितरणले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा गम्भीर प्रभाव पारिरहेको छ। यसले सहरी योजनामा दबाब सिर्जना गर्नुका साथै ग्रामीण क्षेत्रमा लगानीको असर कम हुने अवस्था छ।

गाउँको आर्थिक अवस्थामा सुधार ल्याउन कृषिको आधुनिकीकरण र व्यावसायीकरण अपरिहार्य देखिएको छ। कृषि पर्यटन, अनुसन्धान केन्द्र र कृषि उद्यमशीलताको विस्तारले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गर्न सकिन्छ। युवाहरूलाई कृषि क्षेत्रप्रति आकर्षित गरी रोजगारी सिर्जना गर्ने योजनाहरूले ग्रामीण जनसंख्या रोक्न र आयआर्जन बढाउन मद्दत पुर्याउनेछ।

नेपालजस्तो ग्रामीण परिवेश प्रधान मुलुकमा आर्थिक विकासका लागि गाउँको विकास अपरिहार्य छ। ग्रामीण क्षेत्रमा प्रभावकारी रोजगारी सिर्जना, आधारभूत सेवा सुविधाको गुणस्तरीय विस्तार र कृषि क्षेत्रमा उद्यमशीलताको प्रोत्साहनमार्फत मात्र बसाइँसराइको गति कम गर्न सकिन्छ। अन्यथा, गाउँको रित्तोपन र सहरी क्षेत्रको चापले मुलुकलाई दीर्घकालमा गम्भीर चुनौतीहरूको सामना गराउन सक्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0