पोखरा, १५ माघ । गत जनवरी २१ तारिखमा वासिङटन नेसनल क्याथिड्रलमा एउटा अभूतपूर्व दृश्य देखा पर्‍यो। धर्माेपदेश समारोहको दौरान बिसप मारियन एड्गर बडीले राष्ट्रपति ट्रम्पको सामुन्ने नैतिक धरातलमा उभिएर उनलाई दया र करुणाको पाठ पढाइन्। यो घटना अमेरिकी इसाई धर्मभित्रको गहिरो विभाजन र ट्रम्पको उदयले ल्याएको तरंगको एउटा शक्तिशाली प्रतीक बनेको छ।

बडीले महिनौं लगाएर यो समारोहको तयारी गरेकी थिइन्। एकताका तीन आधारभूत तत्त्व—मर्यादा, इमानदारी र विनम्रता—माथि उपदेश दिने उनको योजना थियो। तर, राष्ट्रपतिको उद्घाटन भाषण र पुरातनपन्थी इसाईहरूले गरेको राष्ट्रपतिको अभिषेकले उनको योजनामा परिवर्तन ल्यायो। ट्रम्पको शासन गर्ने शैलीबाट भयभीत भएकाहरूका तर्फबाट उनले चौथो तत्त्व, दयाको अपिल थप्न बाध्य हुनुपर्‍यो।

बडीले महसुस गरिन् कि मानिसहरू के भइरहेको छ भनेर हेरिरहेका थिए, तर किन कोही केही बोलिरहेको छैन भनेर आश्चर्यचकित थिए। अमेरिका कता जाँदै छ भन्नेबारे कसैले केही बोल्छ कि भनेर उनीहरू पर्खिरहेका थिए। त्यसैले उनले डायसमा उभिएर लामो सास फेरिन् र बोल्न सुरु गरिन्।

उनले राष्ट्रपति ट्रम्पसँग आँखा जुधाइन्। अमेरिकी इसाई धर्मको एक प्रतिनिधि अर्कोसँग बोलिरहेको थियो। बडीका शब्दहरूले संसारको सबैभन्दा शक्तिशाली मान्छेको ध्यान खिचिरहेको थियो। केही क्षणपछि ट्रम्पले अन्यत्र आँखा मोडे। त्यो पल उपस्थित सबैका लागि विस्मयकारी थियो। वासिङटन नेसनल क्याथिड्रलको विस्तीर्णता हठात् एउटा अन्तरङ्गतामा खुम्चेको थियो। राजनीति होइन, नैतिकता स्वयं अस्तित्वको लडाइँमा उत्रिएको थियो। क्यान्टरबरी मञ्चले दादागिरी मञ्चको सामना गर्‍यो।

गत एक दशकदेखि अमेरिकी इसाई धर्म तहसनहस भएको छ। इसाईहरू विभाजित छन्, लडिरहेका छन्। महिलाले उपदेश दिन पाउने कि नपाउने? समलिंगीहरूको स्थान के हुने? विवाहको परिभाषा, चर्च र राज्यको पृथक्कीरण, ब्ल्याक लाइभ्ज म्याटर आन्दोलनजस्ता विवादका विषयहरूले उनीहरूलाई विभाजित बनाएको छ। अनि यी सबै प्रकरणहरूको केन्द्रमा छ, आधुनिक अमेरिकी चर्चको वास्तविक अगुवाका रूपमा ट्रम्पको उदय। आफूलाई ‘ईश्वरको सच्चा आवाज’ घोषणा गर्ने दक्षिणपन्थी इसाई शक्तिको उदय भएको छ।

यी लडाइँहरू एक्लाएक्लै र अलगथलग छन्। लड्नेहरू बिरलै संवादमा हुन्छन्। विरोधी दृष्टिकोणधारी क्रिस्चियनहरू एउटै चर्चमा पूजाआजा गर्दैनन्। एकअर्काका धर्माेपदेश र प्रार्थना सुन्दैनन्। मूलधारका प्रोटेस्टेन्टलाई आफ्ना आवाजले कुनै पनि खालको प्राधिकार पाउनेमा सन्देह छ। रुढीवादी क्रिस्चियनहरू ट्रम्पको दोस्रो कार्यकालमा अझ बढी शक्ति हासिल गर्ने प्रतीक्षामा छन्। यस्तो हालतमा बिसप बडीले गत मंगलबारको अन्तरधर्म उपासनामा केही भिन्न गर्न खोजिन्।

तर, ट्रम्प टसका मस भएनन्। धर्माेपदेश सकिएपछि उनले पुरातनपन्थी क्याथोलिक उपराष्ट्रपति जेडी भान्सलाई हेरे। भान्सले मुन्टो हल्लाए र बिसप बडीसँग आफू असहमत भएको स्पष्ट पारे। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा बडीलाई जवाफ फर्काए। ‘तथाकथित बिसप’ र ‘चरम वामपन्थी–कट्टर ट्रम्पद्वेषी’ सँग माफीनामा माग गरे। उनले बडीले चर्चलाई राजनीतिमा घुसाएको आरोप लगाए।

बडी बिसपमा नियुक्त हुने पहिलो महिला हुन्। सन् २०२० मा ट्रम्प र उनको टक्कर परिसकेको थियो। वासिङटनस्थित लफायेट स्क्वायरमा जातीय न्यायको माग राखेर प्रदर्शन गरिरहेका आन्दोलनकारीमाथि प्रहरीले अश्रुग्यास प्रयोग गर्‍यो। आन्दोलनकारी तितरबितर हुनेबित्तिकै ट्रम्प नजिकै रहेको सेन्ट जोन्स चर्चमा देखा परे र बाइबल समातेर पोज–पोजमा तस्बिर खिचाए। बडीले न्युयोर्क टाइम्समा लेख लेखेर उनको चर्को आलोचना गरिन्।

बुधबार जर्जियाका रिपब्लिकन सांसद् माइक कोलिन्सले बडीलाई ‘देशनिकालाको सूचीमा थप्नुपर्छ’ भन्दै ट्वीट गरे। अरूले उनको लिंगले आध्यात्मिक प्राधिकारमाथिको कुनै पनि दाबीलाई कमजोर तुल्याउने विचार व्यक्त गरे। तर, प्रगतिशील क्रिस्चियनहरूले भने अन्ततः आफ्ना आस्था र धारणाले यस लडाइँमा आवाज पाएको महसुस गरे। बडीले उपदेश दिएको चार घण्टाभित्रै उनलाई धन्यवाद ज्ञापन गर्दै १४ हजारभन्दा बढी मानिसले अनलाइन याचिकामा हस्ताक्षर गरे।

बडीले आफ्नो धर्माेपदेशप्रति यत्ति भन्नु छ, ‘मेरो उपदेशको दृष्टिकोणले अहिले सञ्चारमाध्यममा उति ठाउँ पाएका छैनन्। इसाई धर्मको यस दृष्टिकोणलाई सार्वजनिक क्षेत्रमा एक प्रकारले दबाइएको छ।’ उनी जान्दथिन्, सो सभामा उनीसँग उत्रो प्राधिकार थिएन। शक्तिका नाममा उनीसँग आफ्नो ओहोदाको आध्यात्मिक प्राधिकार मात्रै थियो। र, थियो, १४ मिनेटसम्म निर्विघ्न बोल्ने हैसियत।

उनले धर्माेपदेश दिएको स्थान अर्थपूर्ण थियो। त्यस गिर्जाघरले उनका शब्दलाई इसाई इतिहासको शक्ति दिएको थियो। वासिङटन नेसनल क्याथिड्रल युगौंदेखि महत्त्वपूर्ण राजनीतिक आन्दोलनहरूको थलो रहिआएको छ। क्यान्टरबरी पलपिट आफैंमा सानदार मञ्च हो। डा. मार्टिन लुथर किङ जुनियरले उनको हत्या हुनुअघि केही दिनअघि मात्र आइतबारे धर्माेपदेश दिएका थिए।

बडीले भव्य मचान ओगटिरहँदा उनीसँग त्यस्तो कुनै असली शक्ति थिएन। शक्तिका नाममा उनीसँग आफ्नो ओहोदाको आध्यात्मिक प्राधिकार मात्रै थियो। र, थियो, १४ मिनेटसम्म निर्विघ्न बोल्ने हैसियत। आफूले सिधै ईश्वरका खातिर बोलें भन्नेमा बिसप बडीलाई विश्वास छैन। ‘हाम्रा धार्मिक उपदेश र शास्त्रहरूलाई बुझ्न र व्याख्या गर्न मैले मेरा तर्फबाट जे गर्न सक्थें, त्यही गरें,’ उनले भनिन्।

उनले राष्ट्रपतिलाई दयाको याचना गरिन्, तर उनको यो अपिललाई फरक ढंगले लिइन्छ भन्ने उनले सोचेकी थिइन्। उनले उनको हैसियतको अभिनन्दन गरेकी थिइन्, उनको शक्तिको अभिनन्दन गरेकी थिइन् र उनलाई त्यस स्थानमा पुर्‍याउने करोडौं मान्छेको अभिनन्दन गरेकी थिइन्। तर, उनले बेहिसाब निन्दा र आलोचना बेहोर्नुपर्‍यो। मान्छेहरूले उनको चरित्र, योग्यतादेखि उनको अनादि आत्मासम्ममाथि प्रश्न उठाए। उनको मृत्युको कामना गरियो।

बडीले बेहिसाब निन्दा र आलोचना बेहोरिन्। तर, थुप्रै मान्छेबाट आफूप्रति यतिबिघ्न कृतज्ञता व्यक्त गरिएला भन्ने पनि उनले अपेक्षा गरेकी थिइनन्। मञ्चमा उभिएपछि उनले भनिन्, ‘बोलेका कुराले पछि कस्तो परिणाम निम्त्याउने हुन्, पूर्वानुमान गर्न सकिन्न।’

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0