पोखरा, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति मात्र नभई समाजका हरेक क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन्। नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ‘स्टन्टबाजी’बाट देश नचल्ने भन्दै जनताप्रति इमानदार रहन सबैलाई आग्रह गरे।
उनले देशलाई भद्रगोल र विपन्नताबाट मुक्त बनाउन प्रत्येक नागरिकले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने उल्लेख गरे। राजनीतिक दलको नेतृत्व र जनताको सहभागिताबाट लोकतन्त्र स्थापना भएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धिका लागि सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा उनले जोड दिए। सांसदहरूले कानुन बनाउँदा जनताको सार्वभौमसत्तालाई प्रतिनिधित्व गरिरहेको भन्ने कुरा आत्मसात् गर्नुपर्ने भन्दै सरकारलाई ‘म नै सर्वेसर्वा हुँ’ भन्ने मानसिकता त्याग्न पनि उनले सुझाए।
प्रधानमन्त्री ओलीले न्यायपूर्ण कानुन निर्माण गर्दै सम्बन्धित निकायहरूले त्यसको पालनामा दृढ हुनुपर्ने बताए। उनले सन्तुलन र नियन्त्रणको सिद्धान्तमा आधारित लोकतन्त्रमा सबैले स्वेच्छिक रूपमा कानुन पालना गर्ने संस्कारलाई मजबुत बनाउनुपर्ने धारणा राखे। सुशासन, भ्रष्टाचारमुक्त प्रशासन र समृद्ध नेपालको परिकल्पना साकार पार्न सरकार कटिबद्ध रहेको उल्लेख गर्दै कानुन व्यवसायीहरूबाट आवश्यक सहयोगको अपेक्षा गरेको बताए।
सम्मेलनमा प्रधानमन्त्री ओलीले युवा कानुन व्यवसायीहरूलाई उचित पारिश्रमिक उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे। उनले कानुन व्यवसाय र युवा व्यवसायीहरूको प्रवर्द्धनका लागि सरकार आवश्यक कानुनी सुधारमा जुट्ने विश्वास दिलाए।
अन्तर्राष्ट्रिय कानुनी क्षेत्रका प्रतिनिधिहरूको समेत सहभागिता रहेको सम्मेलनमा युवा कानुन व्यवसायी सर्वेक्षण प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो।




























