पोखरा, १६ माघ । कास्कीको पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि (आईटी) महोत्सव विविध सांस्कृतिक एवं प्रविधि प्रदर्शनका कारण दर्शकहरूको आकर्षणको केन्द्र बनेको छ। यही माघ १० गतेदेखि पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सवमा मिथिलाको झिझिया नाचमार्फत गरिएको स्वागत स्थानीयबासीहरूले विशेष रूपमा सम्झिरहेका छन्।
महोत्सवको आकर्षणमध्ये मधेस प्रदेशको ‘घुमौँ मधेस, बुझौँ मधेस’ कक्ष विशेष रूपमा चर्चित बनेको छ। मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले सञ्चालन गरेको यो कक्ष मधेसलाई नजिकबाट बुझ्न चाहनेहरूका लागि महत्त्वपूर्ण स्थान बनेको छ। संयोजक विकासकुमार ठाकुरका अनुसार दैनिक करिब पाँच सयले यस कक्षको भ्रमण गरी मधेसका धार्मिक तथा पर्यटकीय गन्तव्यबारे जानकारी लिइरहेका छन्।
महोत्सव उद्घाटनका अवसरमा मधेस प्रदेशका पर्यटन स्थलहरूबारे सचित्र जानकारी दिइएको पुस्तिका (बुकलेट) गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरिएको थियो। मधेस प्रदेशको समृद्ध संस्कृति झल्काउन झिझिया नृत्य, थारू नृत्य र भोजपुरी गीत–संगीत प्रदर्शन गरिएको थियो।
महोत्सवको प्रमुख विशेषता व्यापार प्रवर्द्धन मात्र नभई सूचना प्रविधिमा भएका नवीनतम उपलब्धिहरू अवलोकन गर्ने अवसर पनि हो। विभिन्न आईटी उपकरणहरू प्रदर्शनीमा राखिएका छन्, जसले प्रविधि क्षेत्रको विकासको झलक दिन्छ।
मधेस प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ महोत्सवमा विभिन्न प्रचारात्मक सामग्री वितरण गरिएको छ। पुस्तिकामा जनकपुरधामस्थित जानकी मन्दिर, कोशी टप्पु वन्यजन्तु आरक्ष, सहलेश फूलबारी, गढीमाई मन्दिर, पर्सा राष्ट्रिय निकुञ्ज, पञ्चधुरा, दिनाभद्री मन्दिर, सिम्रौनगढ, कङ्कालिनी मन्दिर, धनुषाधाम र भरत तालबारे सचित्र जानकारी दिइएको छ।
यसैगरी, मधेस प्रदेशका अन्य महत्त्वपूर्ण स्थलहरू जस्तै नुनथर, छिन्नमस्ता भगवती मन्दिर, ठोरी, भिश्वाडाँडा, मटिहानी, कमलदह, राजदेवी मन्दिर, पारसनाथ मठ, दुग्धेश्वरनाथ महादेव, चन्द्र नहर, मूर्तिया, नाढीमन ताल, जलेश्वर महादेव मन्दिर, जनकपुर रेलमार्ग लगायतका स्थानबारे विस्तृत जानकारी उपलब्ध गराइएको छ।
महोत्सवस्थलमा विभिन्न प्रदेशका कक्षहरू रहेका छन्। दुई सय पचास कक्षहरूमध्ये मधेस प्रदेशको दुई, सुदूरपश्चिम प्रदेशको एक, कोशी प्रदेशका तीन, बागमती प्रदेशका पाँच कक्षहरू सञ्चालनमा छन्। यी कक्षहरूमा सम्बन्धित प्रदेशका मौलिक उत्पादनहरू बिक्रीका लागि राखिएका छन्।
महोत्सव माघ १९ गते समापन हुनेछ। आयोजकहरूका अनुसार यस महोत्सवले मधेस प्रदेशलाई मात्र नभई समग्र नेपालकै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
































