पोखरा, १६ माघ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शहीद दिवसका अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहीदहरूको उपलब्धिहरूको रक्षा र सुदृढीकरणमा समर्पित हुन आग्रह गरेका छन्। उनले शहीदहरूको बलिदानको सम्मान गर्दै, यस दिनलाई देश र जनताको मुक्ति र परिवर्तनका निम्ति शहीदहरूले देखेको सपना र अठोटलाई पूरा गर्नका लागि सङ्कल्प गर्ने दिनको रूपमा मनाउनुपर्नेमा जोड दिएका छन्।

दाहालले देश र जनताको हक अधिकारका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूको योगदानको कदर गर्दै बेपत्ता योद्धाप्रति उच्च सम्मान प्रकट गरेका छन्। साथै, घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

उनले शहीद परिवारको उचित सम्मान र संरक्षण गर्ने कुरामा जोड दिँदै, शहीदहरूको योगदानको वास्तविक सम्मान यसरी मात्र व्यक्त गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गरेका छन्।

अध्यक्ष दाहालले नेपालको प्रथम शहीद लखन थापामगरदेखि विभिन्न आन्दोलन र संघर्षमार्फत प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि संविधानको इमानदारीपूर्वक कार्यान्वयन गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0