पोखरा, १७ माघ । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबको यात्रा समाप्त भएको छ। बुधबार पोखरा रंगशालामा सम्पन्न पुरुषतर्फको खेलमा एपिएफ क्लब हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ३–२ को सेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
खेलको सुरुवातदेखि नै दुवै टोलीबीच प्रतिस्पर्धा कडा देखिएको थियो। हेल्प नेपालले पहिलो सेट २५–२२ ले जित्दै उत्कृष्ट सुरुआत गरेको थियो। दोस्रो सेटमा पनि हेल्प नेपालले रोमाञ्चक रूपमा २९–२७ को जित निकाल्दै आफ्नो पकड बलियो बनाएको थियो। लगातार दुई सेट गुमाएपछि एपिएफले तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै १३–२५ ले जित हात पार्यो। चौथो सेटमा पनि प्रभावशाली प्रदर्शन गर्दै २३–२५ ले आफ्नो पक्षमा पार्दै खेललाई निर्णायक पाँचौं सेटमा धकेल्यो।
निर्णायक सेटमा एपिएफ सुरुमा कमजोर देखिए पनि अन्तिमतिर लय समात्दै ७–१२ को स्थितिलाई उल्टाएर १२–१३ को अवस्थामा पुर्यायो। तर, अन्तिम समयमा हेल्प नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै १५–१२ को जित निकाल्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गर्यो। एपिएफ भने निर्णायक क्षणमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिनुपर्यो।
हेल्प नेपालले अब लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल जित्ने टोलीले एलिमिनेटर खेल्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।
यसअघि भएको महिलातर्फको खेलमा एपिएफ क्लबले आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। यो जितपछि एपिएफ महिला टोलीले सेमिफाइनल यात्रामा बलियो पकड बनाएको छ।
प्रतियोगिताको अर्को खेलमा थाइल्यान्डको ट्राभल इन्क्वारी प्यासन भलिबल क्लबले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले हराउँदै सान्त्वना जित निकालेको छ। आजको अन्तिम खेल भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने तय भएको छ।

































