पोखरा, १६ माघ । मानसिक शान्ति, आत्मज्ञान र ध्यान प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा चार दिने योग प्रज्ञा साधना (ध्यान शिविर) आयोजना गरिने भएको छ। ओशोधारा संघ नेपाल, ध्यान केन्द्र पोखराको आयोजनामा माघ १६ गतेदेखि १९ गतेसम्म विजयपुरस्थित हाइड्रो पावर मुहान क्षेत्रको खेलमैदानमा उक्त शिविर सञ्चालन हुने भएको हो।
मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले शिविरको विशेषता र आवश्यकताबारे जानकारी गराएको थियो। शिविर प्रत्येक दिन बिहान ७ बजेदेखि राति ८:३० बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार ध्यान शिविरलाई दुई चरणमा विभाजन गरिएको छ। पहिलो दुई दिन सहभागीहरूलाई दुःख, पीडाको वास्तविक कारण पहिचान गर्न सहयोग पुग्ने ध्यान विधिहरू समावेश गरिनेछ भने अन्तिम दुई दिन मूलाधार चक्र सम्बन्धी ज्ञान दिइनेछ। मूलाधार चक्रको ज्ञानले योग अभ्यासको महत्त्व र यसको वैज्ञानिक उपयोगबारे स्पष्ट पार्ने विश्वास आयोजकको छ।

ध्यान शिविरबारे जानकारी दिँदै ओशो अखण्डले मानसिक स्वास्थ्य र ध्यानबीचको सम्बन्ध स्पष्ट पार्दै भने, “हाल ९८ प्रतिशत रोगहरू मानसिक कारणले उत्पन्न हुने गर्छन्। चिन्ता र तनाव नै विभिन्न रोगको मुख्य जड हो, जसको उपचार ध्यानबाट मात्र सम्भव छ।” उनले ध्यानलाई नै वास्तविक औषधि भएको उल्लेख गर्दै डिप्रेसन, एन्जाइटी जस्ता मानसिक समस्याको समाधान ध्यानबाट गर्न सकिने बताए।

शिविरको अन्तिम दिन सहभागीहरूलाई दीक्षा प्रदान गरिनेछ, जसले ध्यानको गहिरो अनुभव दिलाउन सहयोग गर्नेछ। मानसिक स्वास्थ्य सुधार गर्न इच्छुक सबैलाई ध्यान शिविरमा सहभागी हुन आयोजकले आग्रह गरेका छन्। ध्यान र योग साधनाबाट शारीरिक तथा मानसिक लाभ लिन सकिने भएकाले यस शिविरले सहभागीहरूलाई दीर्घकालीन लाभ पुर्याउने विश्वास गरिएको छ।

































