पोखरा, १७ माघ । नेपाली संगीत र नृत्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यसहित आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को दोस्रो संस्करणको अडिसन अमेरिका, ओहायोबाट सुरु भएको छ। इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित यस रियालिटी शोका अडिसनहरू संसारभरका पाँच महादेशका १२ देशका १४ सहरमा हुने तय गरिएको छ।
अमेरिकाको कोलम्बसमा माघ ११ र १२ (जनवरी २५ र २६) मा सम्पन्न अडिसनको उद्घाटन फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले दीप प्रज्वलन गरी गरेका थिए। नेपाली कला, संस्कृति र मौलिकताको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएका यी प्रतियोगिताले विश्वभर रहेका नेपाली प्रतिभाहरूलाई पहिचान गराउँदै अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने विश्वास लिइएको छ।

प्रतियोगिताका विजेताले १ करोड, उपविजेताले २५ लाख र तेस्रो स्थान हासिल गर्नेले १० लाख नेपाली रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विश्वभरका नेपाली मूलका प्रतिस्पर्धीहरूलाई आकर्षित गर्ने उद्देश्यसहित अडिसनहरू लण्डन, पोर्चुगल, टोकियो, हङकङ, सिड्नी, बैंकक, दुबई, कतार, मुम्बई, सिलिगुडी, काठमाडौं, पोखरा, विराटनगर र नेपालगञ्जमा गरिने फाउण्डेसनले जनाएको छ।
पोखरामा आगामी फागुन १६ र १७ गते पोखरा बहुमुखी क्याम्पसमा हुने अडिसनलाई लक्षित गरी पत्रकार सम्मेलन आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै फाउण्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईले नेपाली भाषा, संस्कृति र कला संरक्षणको महत्त्वबारे प्रकाश पार्दै यस किसिमका कार्यक्रमहरूले नयाँ पुस्तालाई नेपाली संस्कृतिप्रति गर्व गर्ने अवसर उपलब्ध गराउने बताए। गण्डकी प्रदेश प्रमुख राजेश बर्देवाले नेपाली संस्कृतिलाई जोगाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे।
पहिलो सिजनको अपार सफलताबाट उत्साहित आयोजकले दोस्रो संस्करणलाई अझ व्यवस्थित बनाउँदै निर्णायक मण्डलमा वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङलाई चयन गरेको छ। नृत्यतर्फ मिथिला शर्मा, दिलीप रायमाझी, शिल्पा मास्के, शंकर विसी, कविराज गहतराज र किरण थापा निर्णायक रहने छन्। चर्चित कार्यक्रम प्रस्तोताहरू रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखरेल र नम्रता श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नेछन्।

प्रतियोगिताका लागि आवेदन इन्ट्रा फाउण्डेसनको वेबसाइटमार्फत भर्न सकिनेछ। विश्वभरका अडिसनबाट छनोट भएका १२० जना गायक र १२० जना नृत्य प्रतियोगीलाई थप प्रशिक्षण तथा प्रतिस्पर्धाका लागि काठमाडौं ल्याइने छ। अन्तिम चरणसम्म पुगेका प्रतिस्पर्धीहरूबाट उत्कृष्ट प्रतिभा छनोट गरी साउन महिनाको अन्त्यमा काठमाडौंमा सम्पन्न हुने ग्रान्ड फिनालेमा विजयी घोषित गरिनेछ।
फाउण्डेसनले प्रतियोगिताका सबै चरणहरू नेपाली कला, संस्कृति र मौलिकतासँग सम्बन्धित हुने गरी सञ्चालन गरिने जनाएको छ। प्रतियोगीहरूको सुविधाका लागि नेपालबाहिर रहेका प्रतिस्पर्धीहरूको यात्रा तथा बसोबास खर्च आयोजकले बेहोर्ने छ। हरेक प्रस्तुति नेपाली मौलिक गीत, संगीत र नृत्यमा आधारित हुने नियम राखिएको छ।
यस शोले नेपाली समुदायबीच एकता, सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाको पहिचानलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ। नेपालीभाषी प्रतिभाहरूलाई विश्वमञ्चमा स्थापित गर्न आयोजना गरिएको यस प्रतियोगिताले नयाँ पुस्तालाई नेपाली संस्कृति र पहिचानप्रति गर्व गर्न अभिप्रेरित गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।




























