पोखरा, १७ माघ । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएका छन्। ‘जित्ने समूह’ अन्तर्गतको अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा हराउँदै आर्मीले क्वालिफायर खेल्न पक्का गरेको हो।

भारतको सुनिल क्लबविरुद्धको खेलमा आर्मीले पहिलो सेट २०–२५ ले गुमाएपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो र तेस्रो सेट क्रमशः २५–१८ र २५–२३ ले आफ्नो पक्षमा पार्यो। तेस्रो सेटमा ५–१० को स्थितिबाट फर्कँदै सुनिल क्लबले २२–२२ को अवस्थामा खेललाई प्रतिस्पर्धात्मक बनाएपनि अन्ततः आर्मीले सेट आफ्नो पक्षमा पार्न सफल भयो। चौथो सेट २३–२५ ले सुनिल क्लबले जितेपछि खेल पाँचौं सेटसम्म धकेलियो। निर्णायक सेटमा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१२ को जित निकाल्यो।

यस जितसँगै आर्मी ‘जित्ने समूह’ को शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ भने नेपाल पुलिस क्लब दोस्रो स्थानमा रहँदै सोही खेलका लागि योग्य बन्यो। सुनिल क्लब तेस्रो स्थानमा रहँदै एलिमिनेटर चरणमा पुगेको छ।

यसअघि बिहीबार बिहान भएको खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गर्यो। न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बल (एपिएफ) र आयोजक टाइगर ग्रुपबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ।

यता, आजको तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबीच हुनेछ। उक्त खेलको विजेताले एलिमिनेटर खेल्ने अवसर प्राप्त गर्नेछ। पोखरामा जारी यो प्रतिष्ठित भलिबल प्रतियोगिता माघ २० गतेसम्म सञ्चालन हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0