पोखरा, १९ माघ । भारतको प्रयागराजमा जारी कुम्भमेलाले विश्वभरका हिन्दू धर्मावलम्बीको ध्यान तानिरहेको छ। माघ कृष्ण औंसी अर्थात् मौनी अमावश्याका दिन मात्रै त्यहाँ १० करोडभन्दा बढी भक्तजनले गंगा स्नान गरेको आँकडा सार्वजनिक भएको छ। डेढ महिनासम्म चल्ने यस मेलामा करिब ४० करोड श्रद्धालु संगम स्नान गर्ने अनुमान गरिएको छ। यी आँकडाले हिन्दू धर्मावलम्बीका लागि तीर्थयात्राको कति ठूलो महत्त्व छ भन्ने प्रस्ट पार्छ।
धार्मिक पर्यटनले भारतमा विशाल अर्थतन्त्र निर्माण गरेको छ। प्रयागराज मात्र होइन, अयोध्या, मथुरा, वृन्दावन, केदारनाथ, बद्रीनाथ, तिरुपति बालाजीजस्ता स्थानहरूमा दैनिक लाखौं तीर्थयात्री पुग्छन्। यी तीर्थस्थलहरूमा जाने श्रद्धालुहरूको भीडबाट भारतले अर्बौं रुपैयाँ आम्दानी गरिरहेको छ। मन्दिर व्यवस्थापनका लागि बनेका ट्रस्टहरूले मात्र दैनिक करोडौं रुपैयाँ उठाइरहेका छन्।
नेपाल आफैंमा हिन्दू र बौद्ध तीर्थयात्रुका लागि एक महत्वपूर्ण गन्तव्य हो। पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर, लुम्बिनी, स्वयम्भूनाथ, गुह्येश्वरी, मनकामना, कैलाश मानसरोवर जाने मार्गका रूपमा परिचित नेपालले धार्मिक पर्यटनबाट अपार लाभ लिन सक्छ। भारतमा १२ ज्योतिर्लिंग छन् तर पशुपतिनाथलाई महाज्योतिर्लिंग मानिन्छ। द्वादश ज्योतिर्लिंगको दर्शन गरेपछि पनि पशुपति दर्शन नगर्दा पुण्य अपूर्ण हुने सनातनी मान्यता छ।
बौद्ध धर्मका अनुयायीका लागि लुम्बिनी सर्वोच्च तीर्थस्थल हो। भगवान बुद्धको जन्मस्थलका रूपमा लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीका लागि तीर्थयात्राको केन्द्र हो। बोधगया, सारनाथ, कुशीनगरसँगै लुम्बिनी तीर्थयात्राका लागि अवश्य पुग्नुपर्ने स्थान हो। यदि नेपालले बौद्ध पर्यटकलाई आकर्षित गर्ने उचित रणनीति अपनायो भने करोडौं बौद्ध धर्मावलम्बी नेपाल भित्र्याउन सकिन्छ।

धार्मिक तीर्थयात्राका लागि निस्कने हिन्दू तथा बौद्ध धर्मावलम्बीको संख्या हेर्दा नेपालले उचित नीति ल्याएर ती पर्यटकलाई तान्ने पहल गर्नुपर्छ। १० वर्षअघिको एक अध्ययनअनुसार, हरेक वर्ष १० करोड हिन्दू र २० करोड बौद्ध तीर्थयात्राका लागि यात्रा गर्छन्। यस संख्या पछिल्लो वर्षहरूमा झन् बढेको अनुमान गर्न सकिन्छ। तीमध्ये १० प्रतिशत नेपाल भित्र्याउन सकियो भने पनि वार्षिक ३ करोड पर्यटक नेपाल आउन सक्छन्।
नेपालका धार्मिक स्थलहरू ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक रूपमा अत्यन्तै महत्त्वपूर्ण छन्। तर, नेपाल सरकारले धार्मिक पर्यटनलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने योजनामा खासै ध्यान दिएको देखिँदैन। प्रयागको कुम्भ मेलाजस्तै नेपालमा पनि ठूलो धार्मिक पर्वहरू हुन्छन्। हरिहर क्षेत्रको मेला, पशुपतिनाथमा महाशिवरात्रि, बडादसैं, लुम्बिनीमा बुद्ध जयन्ती, जनकपुरमा विवाह पञ्चमी जस्ता पर्वहरूमा लाखौं भक्तजन भेला हुन्छन्। तर, यी अवसरलाई व्यवस्थित ढंगले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिएको छैन।
धार्मिक पर्यटन प्रवद्र्धनका लागि नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्नुपर्छ। भारत, श्रीलंका, म्यानमार, थाइल्यान्ड, चीन, जापान लगायत बौद्ध धर्मावलम्बी तथा हिन्दू तीर्थयात्रीहरूका लागि नेपाललाई प्रमुख गन्तव्यका रूपमा उभ्याउन सकिन्छ। तर, यसको लागि सरकारले पूर्वाधार विकास, यातायात सहजता, तीर्थस्थलहरूको संरक्षण र प्रचारप्रसारमा लगानी गर्नुपर्छ।
नेपालको धार्मिक पर्यटन प्रवद्र्धनको ठूलो चुनौती भनेकै व्यवस्थापन हो। नेपालका अधिकांश तीर्थस्थलहरूको पूर्वाधार कमजोर छ। यातायातको सुविधा नहुनु, सरसफाइको अभाव, ठगी प्रवृत्ति, सूचनाको अभाव जस्ता समस्याले विदेशी तीर्थयात्रीलाई नेपालसम्म तान्न कठिन बनाएको छ।

भारतको उदाहरण हेर्ने हो भने, प्रयाग, अयोध्या, तिरुपति, गयाजस्ता तीर्थस्थलहरू अत्यन्त व्यवस्थित छन्। तिरुपति बालाजी मन्दिरमा मात्रै दैनिक लाखौं भक्तजन पुग्छन्, जहाँ व्यवस्थापन अत्यन्त चुस्त छ। भक्तजनले दानस्वरूप दिने चढोत्रीबाट मात्रै मन्दिरले दैनिक करोडौं रुपैयाँ आम्दानी गर्छ। नेपालका मठमन्दिरहरू पनि व्यवस्थित गरी धार्मिक पर्यटनलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्न सकिन्छ।

नेपालका लागि धार्मिक पर्यटन एउटा विशाल सम्भावना बोकेको क्षेत्र हो। धार्मिक पर्यटनको बजार विशाल छ र नेपाल यसमा प्रमुख गन्तव्य बन्न सक्छ। तर, यो सम्भावनालाई वास्तविकतामा बदल्न सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र धार्मिक संस्थाहरूले मिलेर काम गर्नुपर्छ। पशुपतिनाथदेखि लुम्बिनीसम्मका तीर्थस्थलहरूलाई व्यवस्थित गर्न सकेमा नेपाल धार्मिक पर्यटनको उत्कृष्ट केन्द्र बन्न सक्छ।

































