पोखरा, १९ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय तीन प्रमुख विषयले तनावमा परेका छन् । ती विषयमध्ये पहिलो हो, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनरागमन, दोस्रो सामाजिक सञ्जालमा पार्टी र सरकारमाथि भइरहेको आलोचना तथा तेस्रो भारत र अमेरिकासँगको सम्बन्ध व्यवस्थापनको चुनौती ।

एमालेकै वरिष्ठ नेतृ भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने गृहकार्य भइरहेको बुझिएको छ । भण्डारीले आफू एमाले अध्यक्ष बन्ने सम्भावना अस्वीकार नगरेपछि ओली थप सतर्क भएका छन् । भण्डारीले विराटनगर बसाइका क्रममा विभिन्न सार्वजनिक कार्यक्रममा सहभागिता जनाउनुका साथै पार्टीका नेताहरूसँग भेटघाट गरिरहेकी छन् । उनले विद्यार्थी, युवा तथा महिला नेतृहरूसँग पनि छलफल थालेकी छन् । भण्डारी निकट नेताहरूका अनुसार उनले उपयुक्त समयमा ठोस निर्णय गर्नेछिन् । एमालेभित्र अध्यक्ष ओलीबाट असन्तुष्ट नेताहरू भण्डारीलाई अध्यक्ष बनाउनका लागि सक्रिय देखिएका छन् ।

प्रधानमन्त्री ओलीको अर्को प्रमुख चिन्ता भनेको सामाजिक सञ्जालमा पार्टी र सरकारको चर्को आलोचना हो । सरकारका कामकारवाहीमाथि विभिन्न टिकाटिप्पणी हुन थालेपछि ओलीले युवाहरुलाई परिचालन गर्दै त्यसको प्रतिवाद गर्न निर्देशन दिएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री निवासमै विषयवस्तु तयार पारेर सामाजिक सञ्जालमा सरकारको पक्षमा प्रचार गर्ने कार्य तीव्र पारिएको छ । विपक्षी दल तथा आलोचकहरूलाई ‘काउन्टर’ दिने उद्देश्यले विभिन्न लेख, भिडियो र अन्य सामग्रीहरू तयार पार्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

सामाजिक सञ्जाल नियमन गर्न सरकारले संसद्मा विधेयक दर्ता गरिसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको नियमन गर्ने उद्देश्यसहित विधेयक राष्ट्रिय सभामा दर्ता गराएका हुन् । सरकारका प्रवक्ताका अनुसार सो विधेयकले सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न मद्दत गर्नेछ । फेसबुक, टिकटक, युट्युब, एक्सलगायतका प्लेटफर्महरूको सही र व्यवस्थित प्रयोग सुनिश्चित गर्न कानुनी व्यवस्था आवश्यक रहेको सरकारको तर्क छ ।

तेस्रो प्रमुख विषय भनेको भारत र अमेरिकासँगको सम्बन्ध हो । ओलीको भारत भ्रमणको तयारी भइरहे पनि हालसम्म स्पष्ट मिति तय भएको छैन । भारतसँगको पछिल्लो सम्बन्धमा केही खटपट देखिएको ओली पक्षको बुझाइ छ । भारतका उच्च तहका नेताहरूसँग सम्बन्ध सहज बनाउन नेपाल सरकारले पहल गरिरहेको छ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले समेत सम्बन्ध सुधारका लागि पहल गरे पनि तत्काल सफलता प्राप्त नभएको बताइन्छ ।

यसैबीच, चीनसँगको सम्बन्ध सुदृढ बनाउने क्रममा ओलीले हालै चीन भ्रमण सम्पन्न गरेका छन् । तर, भारत भ्रमणको टुंगो नलाग्नुले सरकारभित्रै चिन्ता बढाएको देखिन्छ । एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठका अनुसार नेपालका कुनै पनि मित्र राष्ट्रहरूसँग सम्बन्ध बिग्रिएको छैन, तर अझ सुमधुर बनाउन आवश्यक रहेको छ ।

प्रधानमन्त्री ओली तीनै विषयमा गम्भीर भएर लागिरहेका छन् । पार्टीभित्र सम्भावित प्रतिस्पर्धीको उदय, सामाजिक सञ्जालमा आलोचनात्मक माहोल तथा भारत-अमेरिकासँगको कूटनीतिक जटिलता मिलाउन उनले छुट्टाछुट्टै टोली परिचालन गरिसकेका छन् । पार्टी महासचिव शंकर पोखरेलले समेत प्रधानमन्त्रीविरुद्ध भइरहेका आक्रमणको डटेर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

एमालेभित्र अध्यक्ष ओलीबाट असन्तुष्ट नेताहरूको जमात बलियो बन्दै गएको चर्चा छ । पूर्वराष्ट्रपति भण्डारीलाई अध्यक्ष बनाउन खोज्नेहरू सक्रिय देखिएपछि ओली थप सचेत बनेका छन् । पार्टीभित्रै विद्यमान असन्तुष्ट समूहलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे ओलीले रणनीति बनाइरहेका छन् ।

यहीबीच, ओलीले सामाजिक सञ्जालमा हुने आलोचनालाई न्यूनीकरण गर्न तथा सरकारका कामको प्रचार गर्न युवाहरूलाई परिचालन गरिरहेका छन् । उनले पार्टीका प्रभावशाली युवाहरुलाई जिम्मेवारी दिँदै सरकारको बचाउ गर्ने कार्यमा सक्रिय हुन निर्देशन दिएका छन् । यस क्रममा पार्टीभित्रै सशक्त युवा टोली बनाउने योजना रहेको बताइएको छ ।

सामाजिक सञ्जाल नियमन गर्ने विधेयक पारित गर्न सरकारले सक्रियता बढाएको छ । यदि विधेयक संसदबाट पारित भयो भने डिजिटल प्लेटफर्महरूमा हुने अमर्यादित आलोचनालाई कानुनी रूपमा नियन्त्रण गर्न सरकारले अवसर पाउनेछ । यद्यपि, अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भमा यस विधेयकको आलोचना समेत हुन थालेको छ ।

ओली नेतृत्वको सरकारलाई भारत, अमेरिका, चीन जस्ता महाशक्तिशाली राष्ट्रहरूसँग सम्बन्ध सन्तुलित बनाउनु चुनौतीपूर्ण बनेको छ । भारतसँगको सम्बन्धमा सुधार ल्याउने प्रयास भइरहेको छ भने चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउन रणनीति बनाइएको छ । प्रधानमन्त्री ओलीले आगामी दिनमा यी तीनै विषयलाई कसरी सम्हाल्ने भन्ने हेर्न बाँकी छ ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0