पोखरा, २० माघ । पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस क्लब र महिलातर्फ आयोजक टाइगर ग्रुप च्याम्पियन बनेका छन्। पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पुरुष फाइनलमा पुलिस क्लबले गण्डकी प्रदेशलाई ३-१ को सेट अन्तरले पराजित गर्दै उपाधि हात पार्यो। त्यस्तै, महिलातर्फको फाइनलमा टाइगर ग्रुपले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३-२ को सेटमा हराउँदै पहिलो पटक उपाधि जित्न सफल रह्यो।
पुरुष फाइनलमा नेपाल पुलिस क्लबले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा पनि उस्तै लय कायम राख्दै २५-२१ ले जित निकाल्यो। तेस्रो सेटमा गण्डकीले पुनरागमन गर्दै २५-२० ले सेट आफ्नो पक्षमा पारेर खेलमा फर्कने संकेत गर्यो। तर, चौथो सेटमा पुलिसले २५-२२ को जित निकाल्दै उपाधि चुम्न सफल भयो।
पुरुषतर्फको च्याम्पियन बनेको नेपाल पुलिस क्लबले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता गण्डकी प्रदेशले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो।
त्यसैगरी, महिलातर्फ टाइगर ग्रुपले एपीएफ क्लबलाई ३-२ को रोमाञ्चक सेट अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो। पहिलो सेट १७-२५ ले गुमाएको टाइगर ग्रुपले दोस्रो सेटमा २९-२७ को संघर्षपूर्ण जित निकाल्दै खेलमा फर्कियो। तेस्रो सेट २१-२५ ले हार व्यहोरे पनि चौथो सेट २५-१६ ले जित्दै खेल पाँचौं सेटमा धकेल्यो। निर्णायक सेटमा टाइगर ग्रुपले उत्कृष्ट प्रदर्शन गर्दै १५-१३ को नतिजा निकाल्दै पहिलो पटक उपाधि उचाल्न सफल भयो।
महिलातर्फको च्याम्पियन बनेको आयोजक टोली टाइगर ग्रुपले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता एपीएफ क्लबले २ लाख ८५ हजार ५५५ रुपैयाँमा सीमित रहनुपर्यो।
पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताको सफल आयोजनाले भलिबलप्रेमी दर्शकहरूलाई रोमाञ्चक अनुभव दिलाएको थियो भने खेलकुदको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक टाइगर ग्रुपले जनाएको छ।





























