पोखरा, २० माघ । कास्कीको पोखरा महानगरपालिका–२६, बुढीबजारस्थित जुनियर सिटिजन एकेडेमीले आफ्नो ४६औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। यस अवसरमा विद्यालयका पूर्वशिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै साहित्यकार नवराज पराजुलीले शिक्षाले बालबालिकाको आत्मविकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यार्थीलाई खेल, नृत्य, गीत, कथा तथा मौन चिन्तनको अभ्यास गर्न प्रेरित गर्नुपर्ने सुझाव दिए।

विद्यालय स्थापनादेखि हालसम्म विद्यार्थीको शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याएका ७२ जना शिक्षक तथा कर्मचारीलाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै, शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजना पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक मुकुन्द वस्तीले भावी योजनाहरू प्रस्तुत गरे। विद्यालयका प्राचार्य सुन्दर शर्मा ढकालले विद्यालयको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै शैक्षिक सुधारका पक्षमा विद्यालयको प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विद्यालयका सह-प्राचार्य टीकाराज न्यौपानेले सञ्चालनको भूमिका निभाएका थिए। मावि संयोजक अनिता पौडेलले विद्यालयले अवलम्बन गरेको नयाँ शिक्षण प्रणालीबारे जानकारी गराइन्। विद्यार्थी मिनाक्षी पुर्जा पुनले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरिन्।

सांस्कृतिक कार्यक्रमले झकिझकाउ बनेको वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूले विविध प्रस्तुति राख्दै कला, संस्कृति र सिर्जनात्मक क्षमताको प्रदर्शन गरे।





























