पोखरा, २१ माघ । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबका पहल गहतराज र आयोजक टाइगर ग्रुपकी अम्फा सोमसुरात सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
पहल पुरुषतर्फ र अम्फा महिलातर्फ सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। दुवैले आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए। पहल नेपाल पुलिस क्लबबाट र अम्फा टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगितामा सहभागी थिए। सर्वोत्कृष्ट खेलाडी बन्ने पुरस्कार स्वरूप दुवैले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे।
यस प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट स्पाइकर गण्डकीका रमनकुमार, सर्भर गण्डकीका सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी, लिबिरो आर्मीका इश्वर थापा र प्रशिक्षक पुलिसकै चन्द्र कुँवर बने। महिलातर्फ उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, सर्भर एपिएफकै निरुता ठगुन्ना, सेटर टाइगर ग्रुपकी अरुणा शाही, ब्लकर टाइगर ग्रुपकी नान्तिकान टुनिपो, लिबिरो न्यू डायमण्डकी सलिना श्रेष्ठ र प्रशिक्षक टाइगर ग्रुपका अर्जुन घिमिरे घोषित भए। विधागततर्फ उत्कृष्ट हुनेलाई ट्रफीसहित १० हजार ५५५ रुपैयाँ प्रदान गरिएको थियो।
आइतबार सम्पन्न यस प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई हराउँदै उपाधि जितेको थियो भने महिलातर्फ टाइगर ग्रुपले एपिएफलाई पराजित गर्दै उपाधि जितेको थियो।































