पोखरा, २१ माघ । आजको श्रीपञ्चमी (वसन्त पञ्चमी)को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन्। समारोहमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए।
परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा रहेको छ। सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।
राष्ट्रपति पौडेलले यस अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना पनि गरेका थिए। वसन्त पञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ र वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।
![]()
वसन्त श्रवण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत मन्त्री गण र विशिष्ट महानुभावहरूको उपस्थिति थियो।





























