पोखरा, २३ माघ । चालू आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका बिमा कम्पनीहरूले १ खर्ब रुपैयाँभन्दा बढीको बिमा शुल्क संकलन गरेका छन्। नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार, साउनदेखि पुससम्ममा बिमा कम्पनीहरूले १ खर्ब २ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।
बिमा शुल्क संकलनमा जीवन बिमा कम्पनीहरू अग्रस्थानमा रहेका छन्। चालू आवको पुससम्म ८१ अर्ब १७ करोड ८६ लाख रुपैयाँ जीवन बिमा कम्पनीहरूले संकलन गरेका छन्। उता, निर्जीवन बिमा कम्पनीहरूले भने २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन्।
नेपालका १४ निर्जीवन बिमा कम्पनी र ४ लघुबिमा कम्पनीहरूले गत वर्षको तुलनामा ९ दशमलव ६० प्रतिशतले बढी बिमा शुल्क आर्जन गरेका छन्। गत वर्षको पुस मसान्तसम्म १९ अर्ब ४४ करोड १० लाख रुपैयाँ बिमा शुल्क संकलन भएको थियो।
निर्जीवन बिमा कम्पनीहरूमध्ये शिखर इन्स्योरेन्सले सर्वाधिक २ अर्ब ५९ करोड २ लाख रुपैयाँको बिमा शुल्क संकलन गरेको छ। यस्तै, सगरमाथा इन्स्योरेन्सले २ अर्ब ५५ करोड, सिद्धार्थ प्रिमियरले २ अर्ब १३ करोड, आईजीआई प्रुडेन्सियलले १ अर्ब ७३ करोड र हिमालयन एभरेस्टले १ अर्ब ७१ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन्।
लघुबिमा कम्पनीहरूमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी १२ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ। प्रोएक्टिभ इन्स्योरेन्सले १० करोड ३५ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ९ करोड ८२ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९ करोड ६८ लाख रुपैयाँ संकलन गरेका छन्।
बिमा व्यवसायमा सबैभन्दा बढी योगदान बाग्मती प्रदेशको रहेको छ। बाग्मतीबाट १४ अर्ब २१ करोड ७० लाख रुपैयाँ संकलन भएको छ। लुम्बिनी प्रदेशबाट १ अर्ब ९० करोड, कोशीबाट १ अर्ब ८५ करोड र मधेस प्रदेशबाट १ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको छ। उता, गण्डकीबाट १ अर्ब १४ करोड र सुदूरपश्चिम प्रदेशबाट ५४ करोड ५५ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ।
बिमा व्यवसायमा मोटर बिमा सबैभन्दा अग्रस्थानमा रहेको छ। मोटर बिमाबाट ६ अर्ब ६४ करोड रुपैयाँ आर्जन भएको छ भने सम्पत्ति बिमाबाट ५ अर्ब ४८ करोड, इन्जिनियरिङ बिमाबाट ३ अर्ब ७ करोड, सामुन्द्रिक बिमाबाट १ अर्ब २२ करोड र हवाई बिमाबाट १ अर्ब १ करोड रुपैयाँ संकलन भएको छ।
बिमा शुल्क संकलनमा वृद्धि भए पनि चालू आर्थिक वर्षको पहिलो छ महिनामा जारी गरिएका बिमालेखको संख्या भने २ दशमलव २३ प्रतिशतले घटेको छ। गत वर्ष १४ लाख २१ हजार ७६ बिमालेख जारी भएका थिए भने यस वर्ष १३ लाख ८९ हजार ३१९ बिमालेख मात्रै जारी भएका छन्।
यस अवधिमा सबैभन्दा बढी बिमालेख जारी गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले १ लाख ५१ हजार ७५७ बिमालेख जारी गरेको छ।





























