पोखरा, २४ माघ । मोफसलका प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकप र बुढासुब्बा गोल्डकप एउटै समयमा आयोजना गरिँदा टिमहरूलाई ठूलो समस्या परेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले वार्षिक क्यालेन्डर व्यवस्थित रूपमा नबनाउँदा दुईवटा प्रतिष्ठित प्रतियोगिता एकैपटक जुध्न पुगेका छन्, जसको असर खेलाडी, प्रशिक्षक र आयोजकहरू सबैमा परेको छ।

बिहीबार पोखरामा जारी आहा रारा गोल्डकपमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइजबीच क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा भइरहेको थियो। त्यही दिन धरानमा भने बुढासुब्बा गोल्डकपको सेमिफाइनल खेलमा एनआरटीले खर्साङ फुटबल क्लब युकेको सामना गरिरहेको थियो। यसअघि बुधबार, एनआरटीले बुढासुब्बामा भुटानको आरटीसी विरुद्ध सेमिफाइनल खेल खेलेको थियो। दुवै प्रतियोगिता एकैपटक जुध्दा खेलाडी बाडफाड गर्नुपर्ने अवस्था सिर्जना भयो, जसले टिमहरूको प्रदर्शनमा असर पुर्यायो।

एनआरटी बुढासुब्बा गोल्डकपको डिफेन्डिङ च्याम्पियन हो भने चर्च ब्वाइज पनि फाइनल पुगेको टोली हो। दुवै टिमलाई एउटै समयमा हुने खेलले ठुलो समस्यामा पार्यो। खेलाडी विभाजन गर्नुपर्ने बाध्यताका कारण पोखरामा भएको खेलमा एनआरटी कमजोर देखियो। आहा रारामा बिहीबारको खेलमा चर्च ब्वाइजले टाइब्रेकरमा ६–५ को रोमाञ्चक जित निकाल्दै सेमिफाइनल प्रवेश गर्‍यो। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गयो। त्यहाँ गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलियो, जहाँ चर्च ब्वाइजले जित हात पार्यो।

खेलपछि एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले एन्फाको लापरबाहीका कारण खेलाडी व्यवस्थापन कठिन भएको बताए। “एउटै समयमा दुइटा प्रतियोगिता हुँदा क्लबलाई कुन खेललाई प्राथमिकता दिने भन्ने अन्योल भयो,” उनले भने। “हामीसँग सीमित खेलाडी मात्र थिए। घाइते खेलाडीलाई समेत खेलाउनुपर्ने बाध्यता आयो, जसले गर्दा अग्रता लिएर पनि खेल गुमाउनुपर्‍यो।”

चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले पनि खेलाडी अभावकै कारण टिम सेट गर्न गाह्रो भएको स्वीकारे। “हाम्रो आधा टिम धरानमा थियो। पोखराका लागि केही नयाँ खेलाडी ल्याउनुपर्‍यो, जसले गर्दा टोलीबीच समन्वय मिलाउन समस्या भयो,” उनले भने।

दुवै टिमका प्रशिक्षकहरूले खेल तालिका समायोजन गर्न नसकेकोमा एन्फालाई आलोचना गरेका छन्। उनीहरूका अनुसार एउटै समयमा ठूला प्रतियोगिता हुँदा न त खेलाडीलाई राम्रो मौका मिल्छ, न आयोजकलाई दर्शक तान्न सहज हुन्छ। पोखरामा बिहीबारको खेलमा केवल ८४० दर्शक मात्र उपस्थित भए, जुन आयोजकका लागि निराशाजनक थियो।

फुटबललाई व्यवस्थित रूपमा अगाडि बढाउन एन्फाले वार्षिक तालिका पारदर्शी र समन्वयात्मक बनाउन आवश्यक देखिन्छ। प्रतियोगिताहरू एउटै समयमा जुध्दा क्लबहरूको तयारी, खेलाडीको फिटनेस तथा प्रतियोगिताको प्रभावकारिता सबैमा नकारात्मक असर पर्ने निश्चित छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0