पोखरा, २७ माघ । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले स्पष्ट बहुमत हासिल गरेको छ। ७० सिटका लागि भएको चुनावमा भाजपाले ४८ सिट जित्दै दिल्लीमा सत्ताको पुनरागमन गराएको छ भने आम आदमी पार्टी (आप) २२ सिटमा सीमित भएको छ। यो चुनावी नतिजाले १२ वर्षदेखि सत्तामा रहेको आम आदमी पार्टीलाई बाहिर्याएको छ भने २७ वर्षपछि भाजपाले पुनः सरकार बनाउन लागेको हो।

चुनावमा आम आदमी पार्टीका संयोजक तथा तीनपटक मुख्यमन्त्री भइसकेका अरविन्द केजरीवाल पराजित भएका छन्। यससँगै पार्टीका शीर्ष नेता एवं उपमुख्यमन्त्री मनिष सिसोदिया पनि चुनाव हार्न पुगेका छन्। चुनावको नतिजालाई कतिपय विश्लेषकहरूले आप र कांग्रेसबीचको दूरी तथा इन्डिया गठबन्धनको असफलतालाई कारण मानेका छन्।

चुनावपूर्व आप नेतृत्वमा विभिन्न चुनौतीहरू देखा परेका थिए। केजरीवाल स्वयं १७७ दिनसम्म जेल परेका थिए, जसलाई भाजपाले चुनावी मुद्दाका रूपमा प्रस्तुत गर्‍यो। आप र कांग्रेसबीचको सम्बन्ध चुनावको पूर्वसन्ध्यामा झन् चिसिएको थियो। कांग्रेसका नेता राहुल गान्धीले केजरीवाललाई प्रधानमन्त्री मोदीसँग तुलना गर्दै ‘एक सिक्काका दुई पाटा’ भएको आरोप लगाएका थिए। चुनावी अभियानमा कांग्रेस र भाजपाले केजरीवाल र उनकी पार्टीलाई भ्रष्टाचारी करार गर्ने रणनीति अपनाए।

भाजपाले यो चुनावलाई प्रतिष्ठाको लडाइँका रूपमा लिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं चुनावी अभियानमा सक्रिय रहे। मोदीले दिल्लीवासीलाई आफ्नो पक्षमा आकर्षित गर्न विभिन्न आर्थिक र सामाजिक नीतिहरू अघि सारे। खासगरी मध्यम वर्गलाई लक्षित गर्दै १२ लाख रुपैयाँसम्मको वार्षिक आम्दानीलाई करमुक्त गर्ने निर्णय गरिएको थियो। भाजपाले दिल्लीमा बाहिरी राज्यबाट आएका मतदातालाई समेत प्रभावित गर्न देशव्यापी नेता परिचालन गर्‍यो।

चुनावको परिणामले देखाएअनुसार आम आदमी पार्टीको समर्थन मुख्यत: मुस्लिम बाहुल्य क्षेत्रमा सीमित रह्यो। भाजपाले यसपटक यी क्षेत्रहरूबाट पनि दुई सिट थप्न सफल भयो। कांग्रेसको मत प्रतिशत कम रहे पनि उसले आपका लागि प्रतिस्पर्धा कठिन बनायो। चुनावको नतिजा हेर्दा स्पष्ट छ कि यदि कांग्रेस र आपबीच सहकार्य भएको भए भाजपालाई सत्ताबाट रोकिने सम्भावना बलियो हुनसक्थ्यो।

केजरीवाल सरकारको कामको आलोचना गर्दै भाजपाले सरकारी स्रोतको दुरुपयोग, भ्रष्टाचार र प्रशासनिक असफलताको मुद्दा उठायो। केजरीवालको सरकारी आवास सुधारका लागि खर्च भएको ४५ करोड भारु, मदिरा नीति सम्बन्धी घोटाला तथा हिन्दुत्व राजनीतिप्रतिको अस्पष्ट धारणा आम आदमी पार्टीलाई कमजोर बनाउने कारक बने।

चुनावको क्रममा भाजपाले आम आदमी पार्टीका नेताहरूलाई निष्क्रिय पार्न कठोर रणनीति अपनायो। आपका धेरैजसो शीर्ष नेताहरू जेल परे वा राजनीतिक रूपमा कमजोर बनाए। कांग्रेसले समेत आम आदमी पार्टीको विरोधमा उत्रिँदा केजरीवालको दल थप संकटमा पर्‍यो।

दिल्लीमा लामो समयसम्म सरकार चलाएका कारण आम आदमी पार्टीविरुद्ध संस्थापन विरोधी भावना पनि व्यापक थियो। मतदाताहरूमा विकल्प खोज्ने मनोवृत्ति बढ्दै गयो। भाजपाले मध्यम वर्गीय मतदातालाई आकर्षित गर्ने नीति लियो र सफल भयो।

यो चुनावी नतिजा भारतीय राजनीतिका लागि निकै महत्वपूर्ण संकेत हो। दिल्ली जस्तो क्षेत्र, जहाँ भाजपाले लगातार चुनौती भोग्दै आएको थियो, त्यहाँको सत्तामा पुनरागमन हुनु प्रधानमन्त्री मोदीको रणनीतिक सफलताको प्रमाण हो।.

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0