पोखरा, २७ माघ । पोखरेली साङ्गितिक कलाकार संघको आयोजनामा र पोखरा महानगरपालिकाको प्रबर्द्धनमा सम्पन्न ‘ब्याक टु नाइन्टिज’ कार्यक्रम हज्जारौं दर्शकको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको छ। यो कार्यक्रम ९० को दशकका चर्चित पोख्रेली ७ ब्याण्डका गीत र सांगीतिक प्रस्तुतिहरूसहित पोखरामा रहेको पुराना दिनहरूको यादलाई ताजगी प्रदान गर्दै सांगीतिक माहोलमा परिणत भएको थियो।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री, माननीय पृथ्वी सुब्बा गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख, विभिन्न श्रष्टा, कलाकार, र संगीतप्रेमीहरूको उपस्थितिले कार्यक्रममा थप आकर्षण थप्यो। ९० को दशकका लोकप्रिय गीतहरू र प्रस्तुतिहरूले उपस्थित सबैलाई पुराना दिनहरूमा फर्काएर एक नयाँ ऊर्जा र उत्साह प्रदान गरेको थियो।

आयोजकले पोखरालाई ‘टुरिजम क्यापिटल’ का रूपमा र पोखरा भ्रमण वर्ष २०२५ को अभियानलाई मजबुत बनाउनका लागि यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने पोखरेली जनसमुदाय, कलाकार, प्रायोजक, स्वयंसेवक र दर्शकहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

यस कार्यक्रमले पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने महत्वलाई पुनः पुष्टि गर्दै समृद्धि र सांस्कृतिक धरोहरको संरक्षणमा योगदान पुर्याउने आवश्यकता औंल्याएको छ।



































