पोखरा, २७ माघ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीले राजीनामा दिएका छन्। गृह मन्त्रालयको दबाबपछि उनले पद छाड्न बाध्य भएको बताइएको छ।

सूत्रका अनुसार चैत ५ गते अवकाश पाउन लागेका डिआइजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्ने तयारीस्वरूप केसीलाई राजीनामा दिन लगाइएको हो। एक उच्च प्रहरी अधिकारीका अनुसार एआईजी बढुवा प्रक्रियाकै बेला उनलाई राजीनामा दिने सर्त राखिएको थियो।

गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। तर, बढुवाको एक महिनाभित्रै उनले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन्। केसी प्रदेश समन्वय विभागमा कार्यरत थिए।

यसअघि पुस १७ गते बसेको बढुवा समितिले कुवेर कडायत र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। त्यसपछि केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको थियो। तर, सेवा अवधि ४० दिन बाँकी रहँदै उनले पद छाडेका हुन्।

केसीको राजीनामा सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गरिनेछ। सरकारको निर्णय अनुसार उनको राजीनामा स्वीकृत भएमा कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी जनक भट्टराई एआईजीमा बढुवा हुनेछन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0