पोखरा, २८ माघ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मुलुकमा दुई दलीय व्यवस्था लादेर एकात्मक शासन लागू गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
उनले नेपालजस्तो विविधतायुक्त मुलुकमा बहुदलीय प्रणाली कमजोर पार्ने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न नयाँ राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताए। ‘अमेरिका र भारत दुई दल भएकै कारण विकसित भएका होइनन्। नेपालमा पनि जबर्जस्ती दुई दलीय प्रणाली लाद्न खोज्नु अस्वीकार्य छ,’ चौधरीले भने।
उनले बहुदलीय लोकतन्त्रलाई सुदृढ बनाउन साना दलहरूलाई समेट्दै अघि बढ्नुपर्ने धारणा राखे। ‘हामी लोकतन्त्रका गहना हौं। तर अहिले हामीलाई बोल्नै नदिने स्थिति बनाइएको छ। नयाँ शक्ति र साना दलहरूलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ,’ चौधरीले भने।
उनले मुलुकलाई समृद्ध बनाउन नयाँ शक्ति, नवीन विचार र स्वच्छ नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सबै लोकतान्त्रिक शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।





























