पोखरा, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध चयन भएका छन्। पोखरा सभागृहमा सोमबार सम्पन्न भएको पार्टीको प्रथम अधिवेशनले ७ पदाधिकारीसहित १४३ सदस्यीय प्रदेश कमिटी निर्विरोध निर्वाचित गरेको हो।
नवगठित प्रदेश कमिटीमा अध्यक्ष कृष्णबहादुर नेपालीसहित २ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव तथा भूगोल र विभिन्न क्षेत्रका प्रतिनिधिहरू समावेश छन्। कमिटीका १४३ सदस्यमध्ये विभिन्न क्लष्टरका ४१ पद रिक्त रहेका छन्। अधिवेशनको समाप्तिमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले निर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
नेपाली पार्टीका सचिव रहेर कार्य गर्दै आएका थिए र एमालेबाट विभाजन पछि उनलाई सचिवको जिम्मेवारी दिइएको थियो। उपाध्यक्ष पदमा विष्णु गिरी र मुक्तिनाथ पौडेल, सचिवमा ठाकुरप्रसाद शर्मा तथा सहसचिवमा टीकाराम पौडेल, विवेक भूजेल र सुष्मा काफ्ले निर्विरोध चयन भएका छन्।
अधिवेशन माघ २६ र २७ गतेका लागि तय गरिएको भए पनि अध्यक्ष चयनको प्रक्रियामा समय लागेपछि एक दिन थप गरिएको थियो। अध्यक्ष पदका लागि कृष्णबहादुर नेपालीसहित कास्कीका प्रेमप्रसाद पौडेल, स्याङ्जाका विष्णु गिरी, गोरखाका यादव बस्नेतलगायतको आकांक्षा थियो, तर अन्ततः नेपालीलाई नेतृत्वमा चयन गरिएको हो।
अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधिहरू, जनसंगठन र मजदुर फाँटका गरी ४ सय प्रतिनिधिहरू सहभागी भएका थिए। नवगठित प्रदेश कमिटीको कार्यकाल ४ वर्षको हुनेछ। अधिवेशनलाई सफल बनाउन १२ वटा उपसमिति गठन गरिएको थियो।



























