पोखरा, २९ माघ । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका छन्। सहारा फुटबल एकेडेमीको तेस्रो ब्याचका खेलाडी विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजमा पठाइएको हो।
खेलाडी हस्तान्तरण समारोहमा ब्रिगेड ब्वाइज क्लबले सहारा फुटबल एकेडेमीलाई सहयोगस्वरूप २ लाख रुपैयाँ प्रदान गरेको छ। कार्यक्रममा एन्फाका सहायक सिइओ विनोद गुरुङ, एन्फा गण्डकी उपाध्यक्ष मिलन गुरुङ, एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जित, क्लबका पूर्व अध्यक्ष, मानार्थ सदस्य तथा सल्लाहकारहरूको उपस्थिति थियो। ब्रिगेड ब्वाइज क्लबका धनबहादुर गुरुङ र खेलाडी संघका अध्यक्ष विक्रम लामा पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रमको संचालन क्लब सचिव टंक पौडेलले गरेका थिए भने सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले सहारा फुटबल एकेडेमीको योगदानबारे प्रकाश पारेका थिए।
सहारा एकेडेमीमा हाल ३० जना बालक आश्रित छन्, जसलाई निःशुल्क शिक्षा, आवास र फुटबल तालिम प्रदान गरिँदै आएको छ। क्लबले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गरी प्राप्त आम्दानी एकेडेमीका लागि खर्च गर्दै आएको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए।































