पोखरा, १ फागुन । पोखरामा जारी २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब प्रवेश गरेको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि नजिकको यात्रा तय गरेको हो।
पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसका लागि सञ्जीव लामाले ५८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको उनको शक्तिशाली शट रोक्ने अवसर चर्च ब्वाइजका गोलकिपरले पाएनन्।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा पुलिसले आक्रामक खेल प्रदर्शन गर्दै गोल गर्ने अवसर सदुपयोग गर्यो भने चर्च ब्वाइजले प्राप्त केही अवसरलाई गोलमा परिणत गर्न सकेन।
यो जितसँगै पुलिसले कीर्तिमानी ११ औं पटक आहा राराको फाइनल यात्रा तय गरेको छ। अब पुलिसले उपाधिका लागि थ्री स्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ।































