पोखरा, २ फागुन। लोकप्रिय गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग कानुनी रूपमा अलग भएको घोषणा गरेकी छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले सम्बन्धविच्छेदको पुष्टि गर्दै आ-आफ्नो बाटो खुलेको बताएकी हुन्।
फेसबुकमा उनले ‘प्रिय विष्णु, आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ,’ भन्दै आफ्नो वैवाहिक सम्बन्धमा पूर्णविराम लागेको उल्लेख गरेकी छन्। उनले यो निर्णय रहरले नभई बाध्यताका कारण आएको बताउँदै सम्बन्धविच्छेदको पीडालाई संकेत गरेकी छन्।
एलिना र विष्णुको वैवाहिक यात्रा छोटो रह्यो। गत वैशाख ५ गते विवाह बन्धनमा बाँधिएका उनीहरू बीच केही समययता मनमुटाव चलेको खबर बाहिर आएको थियो। अन्ततः अदालतको निर्णयसँगै उनीहरूको वैवाहिक सम्बन्ध आधिकारिक रूपमा टुंगिएको छ।
जिल्ला अदालत, काठमाडौंले मंगलबार एलिनाले दायर गरेको सम्बन्धविच्छेदको मुद्दामा निर्णय सुनाएको हो। गायन क्षेत्रमा सक्रिय एलिनाले सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेखेपछि उनको पोस्टमा धेरै शुभेच्छुकले प्रतिक्रिया दिएका छन्।































