पोखरा, ४ फागुन। पोखरा भ्रमण वर्ष २०२५ को भव्य उद्घाटन समारोह अप्रत्याशित दुर्घटनाले प्रभावित भएको छ। कार्यक्रममा उडाइएका हाइड्रोजन ग्यास भरिएका बलून एक्कासि विस्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्।

पोखरा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीसहित ३३ वटै वडाका प्रतिनिधिहरू भेला भएका थिए। राष्ट्रिय गान र स्वागत नृत्यपछि डिजिटल प्रविधिको माध्यमबाट दीप प्रज्वलन गरी समारोहको उद्घाटन गरियो। त्यसपछि बलून उडाउने क्रम चल्दै गर्दा मञ्च अगाडि रहेका हाइड्रोजन ग्यास भरिएका बलून एक्कासि विस्फोट भएका थिए। विस्फोटसँगै ठूलो आगोको लप्का उठ्दा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका हुन्।

बलून पड्किएर ठूलो आगो बलेपछि अर्थमन्त्री पौडेल मञ्चतर्फ दौडिएको तस्बिर

अर्थमन्त्री पौडेलको घाँटीको पछाडिको भाग, हात र ओठमा जलन भएको छ भने मेयर आचार्यको गाला र कानमा असर परेको अधिकारीहरूले बताएका छन्। दुबै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। अस्पताल स्रोतका अनुसार उनीहरूको ५-६ प्रतिशत भाग जलेको छ, तर अनुहारमा असर परेका कारण श्वासनलीमा समेत प्रभाव पर्नसक्ने भएकाले सघन उपचार कक्ष (ICU) मा राखिएको छ।

रसायनशास्त्रीहरूका अनुसार हाइड्रोजन अत्यन्तै प्रज्वलनशील ग्यास भएकाले आगोनजिक लैजानु खतरनाक हुन्छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक अच्युत अधिकारीका अनुसार बलून उडाउनका लागि नेपालमा प्रायः हाइड्रोजन ग्यास प्रयोग गरिन्छ, तर यो निकै संवेदनशील हुने भएकाले सावधानी अपनाइनु आवश्यक छ। उनका अनुसार सुरक्षित विकल्पको रूपमा हिलिअम ग्यास प्रयोग गर्न सकिन्छ, तर यसको लागत उच्च हुने भएकाले नेपालमा प्रयोग कमै हुने गरेको छ।

घटनाबारे अनुसन्धान भइरहेको र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सावधानी अपनाइने पोखरा महानगरपालिकाले जनाएको छ। जलनका घटनाहरू सामान्य रूपमा लिइनु नहुने भन्दै विज्ञहरूले बेलैमा सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्। नेपाल केमिस्ट सोसाइटीका महासचिव समेत रहेका अधिकारीका अनुसार जन्मदिन तथा अन्य कार्यक्रममा प्रयोग गरिने बलूनहरूमा पनि हाइड्रोजन ग्यास प्रयोग गरिएमा आगोनजिक पुगे दुर्घटना निम्तिन सक्छ।

पोखरामा भएको दुर्घटनाले हाइड्रोजन ग्यास प्रयोगको जोखिम पुनः सतहमा ल्याएको छ। विशेषज्ञहरूका अनुसार यस्ता घटनाबाट बच्न बलून तथा अन्य सजावट सामग्रीमा सुरक्षित ग्यासको प्रयोग गर्न आवश्यक छ। पोखरा भ्रमण वर्षको उद्घाटन समारोहको उल्लास बलून विस्फोटका कारण मलिन बनेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छा प्रकट गर्नेहरूको ओइरो लागेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0