पोखरा, ६ फागुन। मानव सेवा फाउण्डेशन नेपाल द्वारा आयोजना गरिने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ रोक्नको लागि दायर गरिएको रिटमाथि उच्च अदालत पोखराले अन्तरिम आदेश नदिएर कारण देखाऊ आदेश जारी गरेको छ। अदालतको इजलासमा न्यायाधीश दीपेन्द्र अधिकारीले उक्त आदेश जारी गरेका छन्।

कोटिहोम महायज्ञ रोक्नका लागि २ फागुनमा रिट निवेदन दिइएको थियो। उक्त रिटमा महायज्ञ आयोजक मानव सेवा फाउण्डेशन सहित १० जनालाई प्रतिवादी बनाइएको थियो। रिटमा फेवातालको सिमसार क्षेत्रमा महायज्ञ गर्न नहुने माग उठाइएको छ। रिटमा महायज्ञ आयोजक, पोखरा महानगरपालिका, पोखरा ६, १३ र १४ नम्बर वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल ट्रस्टको कार्यालय र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय लगायतका निकायलाई विपक्षी बनाइएको छ।

अधिवक्ताहरू भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यको नेतृत्वमा दायर गरिएको रिटमा फेवातालको पारिस्थितिकीलाई बचाउन र उक्त क्षेत्रलाई पर्यावरणीय क्षति नपुर्याउने उद्देश्यले कोटिहोम महायज्ञ आयोजनामा रोक लगाउन माग गरिएको थियो। यसका साथै, रिट निवेदकहरूको तर्क थियो कि महायज्ञका कारण सिमसार क्षेत्रको जैविक विविधता र पानीको स्तरमा असर पर्ने खतरा रहेको छ।

कोटिहोम महायज्ञको आयोजक पक्षले भने, यो महायज्ञ धार्मिक दृष्टिले महत्वपूर्ण छ र यसका लागि सबै आवश्यक कागजी प्रक्रिया पुरा गरिसकेको बताएका छन्। उच्च अदालत पोखराले भने रिटमाथि थप छलफल र निर्णयको लागि कारण देखाऊ आदेश जारी गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0