पोखरा, ७ फागुन। परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसा राज्यका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेकी छन्। उनले टेलिफोन संवादमार्फत घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेकी हुन्।
ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत प्रकृतिको मृत्युपछि नेपाल सरकारको ध्यान उक्त घटनाप्रति केन्द्रीत भएको छ। मन्त्री राणाले ओडिसाका शिक्षामन्त्रीसँग उक्त विश्वविद्यालयमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्दै सुरक्षित वातावरणमा अध्ययन गर्न सक्ने सुनिश्चितता माग गरेकी छन्।
जवाफमा मन्त्री सुरजले ओडिसा राज्य सरकारले घटनालाई गम्भीर रूपमा लिएको भन्दै सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन्। साथै, विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थी र तिनका अभिभावकलाई आवश्यक परामर्शका लागि हटलाइन सेवा उपलब्ध गराइएको र घर गएका विद्यार्थीहरूलाई पुनः होस्टेल फर्काएर पठनपाठनको उचित व्यवस्था मिलाइएको उनले बताए।
मन्त्री सुरजले नेपाली विद्यार्थीहरूमाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहारप्रति राज्य संवेदनशील रहेको उल्लेख गर्दै, घटनामा संलग्न विश्वविद्यालयका कर्मचारीलाई बर्खास्त गरी कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। साथै, उनले नेपाल-भारत सम्बन्धलाई अझ सुमधुर बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।




























