पोखरा, ७ फागुन। कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ मा रहेको प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुकमा आजदेखि पर्यटन महोत्सव सुरु भएको छ। घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा भएको महोत्सव फागुन १० गतेसम्म चल्नेछ।
महोत्सवको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले पर्यटन, कृषि, उर्जा र पूर्वाधारलाई गाउँपालिकाको समृद्धिको मुख्य आधारका रूपमा अगाडि बढाइने बताए। उनले घान्द्रुकको मौलिक संस्कृति र पहिचानलाई जोगाउँदै पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का प्रमुख डा. रविन कडरियाले घान्द्रुक विभिन्न पदमार्गहरूसँग जोडिएको हुनाले पर्यटनको ‘हब’ बन्दै गएको बताए।
महोत्सवमा खुला क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ। भलिबल विजेताले १ लाख २२ हजार २ सय २२ नगद, उपविजेताले ७७ हजार ७ सय ७७ नगद प्राप्त गर्नेछन्। घोडादौड प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ पाउने छन्।
घान्द्रुकमा ६० होटल र ३० होमस्टे सञ्चालनमा छन्, जसले एकै पटक २५०० पर्यटकलाई सेवा दिन सक्छन्। महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। आयोजकका अनुसार साँझ सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ।































