पोखरा, ८ फागुन। गण्डकी प्रदेशमा सन् २०२४ मा राज्य पक्षबाट कुनै मानव अधिकार उल्लंघन नभए पनि अन्य पक्षबाट ५०४ जना पीडित बनेका छन्। इन्सेक गण्डकी प्रदेश कार्यालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार महिला तथा बालबालिकामाथि हुने हिंसा गम्भीर चुनौतीका रूपमा रहिरहेको छ।
इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलका अनुसार समग्र मानव अधिकार उल्लंघनका घटनामा संख्यात्मक रूपमा कमी आए पनि घरेलु हिंसा, बलात्कार, बाल यौन दुव्र्यवहारजस्ता घटनाहरू निरन्तर भइरहेको देखिन्छ। उनले महिलामाथि हुने हिंसामा परिवारका सदस्य तथा आफन्तहरू नै बढी संलग्न रहने भएकाले पीडितलाई न्याय पाउन थप कठिन भइरहेको बताए।
इन्सेकको अभिलेखअनुसार सन् २०२४ मा अन्य पक्षबाट ४२९ महिला र ७५ पुरुष गरी ५०४ जना पीडित भएका छन्। घरेलु हिंसामा २१७ महिला, बलात्कारमा ४५ महिला, बलात्कारपछि हत्यामा १ महिला तथा साइबर अपराधमा २ महिला पीडित बनेका छन्। गत वर्ष ६१६ जना पीडित रहेकोमा यस वर्ष ११२ जनाले कमी आएको छ।
बालअधिकार उल्लंघनका घटनामा भने वृद्धि देखिएको छ। यस वर्ष १३१ जना बालबालिका पीडित भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १६ जनाले बढी हो। गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा धेरै घटनाहरू कास्कीमा दर्ता भएका छन् भने सबैभन्दा कम मनाङमा देखिएका छन्।
महिला तथा बालबालिकाविरुद्धका हिंसाका घटनामा प्रहरी प्रशासनमै मिलापत्र गराउने प्रवृत्ति कायमै रहेको इन्सेकले जनाएको छ। बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा आरोपितलाई धरौटीमा रिहा गरिने प्रथाले पीडितहरू न्यायबाट वञ्चित भइरहेको खकुरेलले बताए।
प्रदेश सरकारले हिंसा पीडित महिलाका लागि सुरक्षित गृह निर्माण गरे पनि अहिलेसम्म सञ्चालनमा नआएको इन्सेकले जनाएको छ। यस वर्ष इन्सेकको मानव अधिकार वर्ष पुस्तकमा वातावरण अधिकारलाई विशेष प्राथमिकताका साथ समेटिएको छ।
































