पोखरा, ८ फागुन। दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको अन्तिम चरण बिहीबारदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सुरु हुँदैछ। आयोजक ई-स्पोर्ट्स संघ नेपाल (इशान) र नेपाल प्लेजका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ।
यस च्याम्पियनसिपमा पब्जी मोबाइल, ई-फुटबल, मोबाइल लेजेण्ड्स, डोटा-२, भ्यालोरेन्ट र कस प्ले विधामा खेलहरू सञ्चालन गरिनेछन्। छनोट चरण, समूह चरण र प्लेअफ खेलपछि अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिमहरूको टुंगो लागिसकेको छ। पब्जी मोबाइलमा शीर्ष १६ टिम, ई-फुटबलमा १६ खेलाडी, मोबाइल लेजेण्ड्समा २ टिम, डोटा-२ मा ३ टिम, भ्यालोरेन्टमा ३ टिम अन्तिम चरणमा छनोट भएका छन्।
च्याम्पियनसिपको कुल पुरस्कार राशी २५ लाख रुपैयाँ रहेको छ। पब्जी मोबाइल विधाका विजेताले २ लाख ५० हजार पाउनेछन् भने मोबाइल लेजेण्ड्स विजेताले १ लाख ८२ हजार प्राप्त गर्नेछन्। भ्यालोरेन्ट, डोटा-२, ई-फुटबल र कस प्ले विधामा पनि छुट्टाछुट्टै पुरस्कार राशी छुट्याइएको छ।
प्रतियोगिता फागुन ८ देखि १० गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन समारोहअघि कबवेब, ग्रन्चिच र एसटी ट्रिओ ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन्।






























