पोखरा, ८ फागुन। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा नेपालको निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ। भन्सार विभागका अनुसार माघ मसान्तसम्म नेपालबाट १ खर्ब २७ अर्ब २० करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४६.५० प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा ८६ अर्ब ८३ करोड ९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
निर्यात वृद्धिको प्रमुख कारण वनस्पति तेल, विशेषगरी सोयाबिन तेलको उच्च निर्यात रहेको देखिन्छ। भारतले नेपालबाट वनस्पति तेल आयात सहज बनाएपछि माघ मसान्तसम्म मात्रै ३२ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ। सोयाबिन तेल निर्यात सूचीको पहिलो स्थानमा रहेको छ। त्यस्तै, दोस्रो स्थानमा सूर्यमुखी तेलको बिउ तथा तेल रहेको छ, जसको निर्यात ६ अर्ब ५७ करोड रुपैयाँ बराबर भएको छ। कार्पेट निर्यात ६ अर्ब ४६ करोड रुपैयाँ बराबर रहेको छ भने अलैँची ५ अर्ब ३९ करोड रुपैयाँ बराबर निर्यात भएको छ।
नेपालको कुल वैदेशिक व्यापार पनि बढ्दै गएको छ। माघ मसान्तसम्म ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँ बराबरको कुल व्यापार भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.३० प्रतिशतले वृद्धि भएको हो। व्यापार घाटा भने ८ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.२० प्रतिशतले बढी हो।
आयाततर्फ पनि वृद्धि देखिएको छ। भन्सार विभागका अनुसार माघसम्म ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.०९ प्रतिशतले वृद्धि हो। डिजेल, कच्चा सोयाबिन तेल, पेट्रोल, खाना पकाउने ग्यास र फलाम तथा स्टील आयातमा ठूलो हिस्सा रहेको छ।
निर्यात बढ्दै गए पनि नेपालले अझै पनि ठूलो मात्रामा आयातमा निर्भर रहनुपर्ने देखिएको छ। तर, निर्यातको हिस्सा केही सुधार भई कुल वैदेशिक व्यापारमा ११.४० प्रतिशत पुगेको छ, जुन नेपालका लागि सकारात्मक संकेत मानिन्छ।





























