पोखरा, १० फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू गृहमन्त्री बनेपछि डेरा नपाउँदा पत्नी राधिका शाक्यको माइतीमा घर ज्वाइँ बसेको खुलासा गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा उनले मन्त्री भएपछि नयाँ डेरा खोज्न मुस्किल परेको स्मरण गर्दै सालोको आग्रहमा केही समय त्यहीँ बसेको बताए।

पत्नी राधिका शाक्यद्वारा लिखित ‘करुणा’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले सांसद हुँदा समेत स्थायी डेरा नभएको उल्लेख गरे। उनले गृहमन्त्री बनेपछि मन्त्री क्वार्टर सरेको तर पदबाट हटेपछि नयाँ डेरा खोज्दा मुस्किल परेको अनुभव सुनाए। ‘‘डेरा खोज्दै गर्दा सालो ज्ञानेन्द्र शाक्यले हाम्रैमा बस्न आग्रह गरेपछि केही दिन त्यहीँ बसेँ,’’ उनले भने, ‘‘साथीभाइले कहाँ बस्नुहुन्छ भनेर सोध्न थालेपछि ‘घर ज्वाइँ बसेको छु’ भन्दा सबै चुप लागे। सही कुरा बोल्दा ढुक्क हुँदो रहेछ।’’

प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यकै पहलमा घर बनेको बताउँदै आफूले घर बनाउन नसकेको स्वीकृति दिए। ‘‘घर बनाउने राधिकाले हो, मेरा बुताले होइन,’’ उनले भने। उनले उक्त घरसमेत ट्रस्टलाई दान गरिसकेको जानकारी गराउँदै पत्नीप्रति सन्तुष्टि व्यक्त गरे। ‘‘त्यो घर मेरो कमाइको होइन, उनकै कमाइको हो। त्यसैले म जति श्रीमतीसँग खुसी कोही छैन होला,’’ उनले भने।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0