पोखरा, १० फागुन। सरकारको स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीले आगामी एक वर्षभित्र १०० देखि १६० वटासम्म घडेरी बिक्री गर्ने योजना बनाएको छ। हाल काभ्रेमा आठ वटा घडेरी बिक्री गर्न सूचना जारी गरिएको छ, जसमा एक घडेरी पहिले नै बिक्री भइसकेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सहरी तथा ग्रामीण क्षेत्रलाई ध्यानमा राखी प्रत्येक घडेरीको क्षेत्रफल ५ आना देखि १० आना सम्मको रहनेछ। काभ्रेका घडेरीहरूको मूल्य प्रति आना १० लाखदेखि १४ लाख रुपैयाँसम्म तोकिएको छ। कम्पनीले सबै घडेरी खरिद प्रक्रिया टेन्डर प्रणालीमार्फत अघि बढाइने स्पष्ट पारेको छ।
राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले कम्पनीको स्वामित्वमा रहेका केही जग्गालाई घडेरीका रूपमा टुक्र्याएर बिक्री गरिने र केही क्षेत्रमा कम्पनी आफैं घर निर्माण गरेर बिक्री गर्ने योजना रहेको जानकारी दिए। कम्पनीसँग हाल कञ्चनपुर, झापा, बर्दिया, काभ्रे, कैलाली, कपिलवस्तु, नवलपरासी लगायत विभिन्न जिल्लामा ३२०० बिघा जग्गा रहेको छ।
भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको अधिकार सुनिश्चित गर्दै आएको कम्पनीले सीमावर्ती क्षेत्रमा पुनर्वास कार्यक्रम सञ्चालन गर्दै आएको छ। २०२० सालमा पुनर्वास कम्पनीका रूपमा स्थापना भएको यो संस्थाले २०४६ सालसम्म २६,९०० परिवारलाई जग्गा वितरण गरी आवासको व्यवस्था गरिसकेको छ।
यसैबीच, कम्पनीले आफ्नो ३६औँ वार्षिकोत्सव शुक्रबार विभिन्न धार्मिक कार्यक्रम गरी मनाएको छ। बुद्धनगरस्थित कम्पनी कार्यालय परिसरमा पूजाआराधना, चण्डी पाठ तथा रुद्री पाठको आयोजना गरिएको थियो।





























