पोखरा, १० फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी तथा प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री ओलीमाथि लगाइने आरोपहरू निराधार भएको बताएकी छन्। आफ्नो पुस्तक ‘करुण’ को सार्वजनिक समारोहमा बोल्दै उनले प्रधानमन्त्री ओली मेहनती र कर्मठ व्यक्तित्व भएको स्पष्ट पारिन्।

शाक्यले प्रधानमन्त्रीलाई ‘अल्छी’ भन्नेलाई गलत ठहर्याउँदै उनले अहोरात्र परिश्रम गरिरहेको बताइन्। ‘कतिपयले उहाँलाई निष्क्रिय भन्छन्, सिन्कोसमेत नभाँच्ने भन्छन्, तर सत्य त्यस्तो छैन। हिजो बिहानदेखि आज बिहान ४ बजेसम्म उहाँ निरन्तर काममा व्यस्त हुनुहुन्थ्यो,’ उनले भनिन्।

सामाजिक सञ्जालमा आएका निराधार आरोपहरू प्रति प्रतिक्रिया जनाउँदै उनले ती आरोपहरूको पछि नलाग्न आग्रह गरिन्। ‘यदि सबै आरोपहरूको खण्डन गर्न थालियो भने दिनभरि त्यसैमा बित्छ,’ उनले भनिन्।

शाक्यले प्रधानमन्त्री ओलीसँग विवाह गर्ने निर्णय कुनै राजनीतिक आकांक्षाबाट नभई करुण भावनाबाट प्रेरित भएर भएको बताइन्। ‘उहाँ कुनै दिन मन्त्री वा प्रधानमन्त्री बन्नुहुन्छ भन्ने सोचेर विवाह गरेकी थिइनँ। करुणाले जित्यो, त्यसैले पुस्तकको नाम ‘करुण’ राखेकी हुँ,’ उनले भनिन्।

प्रधानमन्त्री ओली चार पटक प्रधानमन्त्री बन्न सफल हुनुमा आफ्नो पनि योगदान रहेको उल्लेख गर्दै उनले भनिन्, ‘उहाँको सफलतामा मेरो पनि केही न केही भूमिका छ। सबैको सहयोगले उहाँले यो यात्रा तय गर्नुभएको हो।’

राष्ट्र बैंकमा लामो समय सेवा गरेकी शाक्यले आफूहरूले कठिन परिश्रम गरेर मात्र घर बनाएको स्पष्ट पारिन्। ‘मैले ३३ वर्ष राष्ट्र बैंकमा काम गरें। राष्ट्र बैंकको सेवा सुविधा राम्रै भए पनि मेहनत नै हाम्रो सम्पत्ति हो। बिहेपछि १७ वर्ष डेरामा बसेका थियौं, जसोतसो गरेर घर बनाएका हौं,’ उनले भनिन्।

आफ्नो जीवनशैली सामान्य रहेको उल्लेख गर्दै उनले मितव्ययी जीवनशैली अपनाएको बताइन्। ‘हाम्रो लवाइखवाइ साधारण छ। हामी मात्र होइन, सबै नेपालीले खानलाउन पाउनुपर्छ भन्ने हाम्रो सोच हो,’ उनले भनिन्।

सामाजिक सेवामा सक्रिय रहेको बताउँदै उनले खान नपाएका व्यक्तिहरूप्रति आफू संवेदनशील रहेको जनाइन्। ‘म बाटोमा भोकै मानिस देख्दा पीडा महसुस गर्छु, त्यसैले सामाजिक कार्यमा पनि संलग्न छु,’ शाक्यले भनिन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0