पोखरा, १२ फागुन। कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता यस वर्ष नहुने निश्चित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटक–पटक प्रतियोगिताको मिति प्रस्ताव गरे पनि संघीय सरकारले निर्णय नगर्दा प्रतियोगिता अनिश्चित बनेको हो।
राखेपले प्रतियोगिता आयोजना गर्न २०८१ सालमै पहल थालेको थियो। पछिल्लो पटक चैत २३ देखि २९ गतेसम्म प्रतियोगिता गर्ने प्रस्ताव राखिएको भए पनि मन्त्रिपरिषद्मा यो प्रस्ताव पेश नगरिएको राखेप स्रोतले जनाएको छ। चालू आर्थिक वर्षमै प्रतियोगिता सम्पन्न गर्न संघीय सरकारले ६० करोड रुपैयाँ विनियोजन गरेको थियो। तर, युवा तथा खेलकुद मन्त्रालय र राखेप नेतृत्वबीचको विवादका कारण प्रस्ताव अघि बढ्न सकेको छैन।
प्रतियोगिताको मुख्य व्यवस्थापक कर्णाली प्रदेश खेलकुद विकास परिषद् पौष ६ देखि रिक्त छ। परिषद्का पदाधिकारीको पदावधि सकिएपछि प्रतियोगिता आयोजना गर्न संघीय सरकारलाई दबाब दिन नसकिएको खेलाडीहरूले बताएका छन्। प्रदेश सरकारले परिषद्मा पदाधिकारी नियुक्त नगर्दा प्रतियोगिता अझ अनिश्चित बनेको छ।
वीरेन्द्रनगरमा अत्याधुनिक रंगशाला निर्माण भइसके पनि प्रतियोगिता सञ्चालन नहुनु खेल प्रेमीहरूका लागि निराशाजनक बनेको छ। नौ बिघा क्षेत्रफलमा फैलिएको यो रंगशाला एक अर्ब ५९ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो। १० हजार दर्शक क्षमताको रंगशाला फिफा मापदण्डअनुसार निर्माण गरिएको छ, जसमा १६ वटा खेल सञ्चालन गर्न सकिनेछ।
राखेपले बजेट शीर्षकगत रूपमा ब्रेकडाउन गर्न युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई अनुरोध गरे पनि प्रक्रिया अघि बढ्न सकेको छैन। प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश सरकार प्रतियोगिता आयोजनाका लागि तयार रहेको बताए। तर, प्रतियोगिता कहिले हुने भन्ने संघीय सरकारकै निर्णयमा निर्भर हुने उनको भनाइ छ।
































