पोखरा, १२ फागुन। नेपालमा कम्युनिस्ट आन्दोलनको लामो इतिहास छ। तर, यो आन्दोलन जति पुरानो हुँदै गयो, त्यति नै यसको एकता खण्डित हुँदै गयो। अहिले मुलुकमा ‘कम्युनिस्ट’ नाम जोडिएका १९ वटा दल क्रियाशील छन्। ती दलहरू फरक–फरक एजेन्डासहित २०८४ को निर्वाचनको तयारी गर्दै गाउँ पसिरहेका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित अन्य साना कम्युनिस्ट दलहरू चुनावी अभियानमा जुटेका छन्।
नेकपा एमालेले ‘मिसन ०८४’ अन्तर्गत ‘जरा अभियान’ सञ्चालन गरिरहेको छ। वडास्तरमै पुगेर संगठन बलियो बनाउने उद्देश्यले सुरु गरिएको यो अभियान तीन महिना चल्नेछ। उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ। एमालेको यो अभियान सफल भए–नभएको मुल्याङ्कन आउँदो निर्वाचनले गर्नेछ।
यता, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले ‘तराई–मधेस जागरण अभियान’ थालेको छ। सत्ता गुमाएपछि आफूलाई पुनः सशक्त बनाउन माओवादीले विशेष गरी तराई–मधेस केन्द्रित अभियान सुरु गरेको हो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरू जनतामाझ पुग्ने तयारीमा छन्। माओवादीले २०८२ वैशाखमा ‘पूर्व–पश्चिम जागरण अभियान’ सञ्चालन गर्ने योजना पनि बनाएको छ।
नेकपा एकीकृत समाजवादी पनि संगठन सुदृढीकरणका लागि सक्रिय छ। तीन वर्षअघि विभाजन भएर बनेको यो पार्टीले ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने रणनीति बनाएको छ। महासचिव घनश्याम भुसालको नेतृत्वमा पार्टीलाई बलियो बनाउने कार्ययोजना अघि सारिएको छ।
साना कम्युनिस्ट दलहरू पनि आ–आफ्नै अभियानमा छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्यको क्रान्तिकारी कम्युनिस्ट पार्टी, बाबुराम भट्टराईको नेपाल समाजवादी (नयाँ शक्ति) जस्ता दलहरू सशक्त रूपमा चुनावी मैदानमा छिर्ने योजनामा छन्। विप्लवले पहिलो महाधिवेशनपछि संगठन विस्तारलाई तीव्र बनाएको छ भने बाबुराम भट्टराईको दल निर्वाचनको तयारीमा जुटेको छ।
यसैबीच, एमालेबाट अलग भएका भीम रावलले ‘मातृभूमि जागरण अभियान’ सुरु गरेका छन्। पार्टी खोलेर चुनाव लड्ने वा कुनै दलमा समाहित हुने भन्ने उनले खुलाइसकेका छैनन्। त्यस्तै, वामदेव गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’ अघि बढाएका छन्, जसले वामपन्थी एकता सम्भव बनाउन खोजेको देखिन्छ।
नेपालमा कम्युनिस्ट पार्टीहरू पटक–पटक फुटे पनि जनतासँग जोडिनका लागि ती सबै दलहरू चुनावी तयारी गर्दै गाउँ पसिरहेका छन्। तर, बारम्बार विभाजन, सत्तामुखी राजनीति, गुटबन्दी र आन्तरिक असमझदारीकै कारण कम्युनिस्ट आन्दोलन दिनप्रतिदिन कमजोर बन्दै गएको देखिन्छ।




























