पोखरा, १२ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटोछरितो सेवा प्रदान गर्दै सुशासन र समृद्धिको यात्रामा राष्ट्रसेवक कर्मचारीलाई साथ दिन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीको ७४औं जन्मदिनको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उहाँले प्राप्त शुभकामनालाई सार्थक बनाउन सकारात्मक सोचका साथ सेवाग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारीलाई प्रेरित गरे।
ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ले देशको गरिबी हटाउने र सुशासन कायम गर्नमा सफल भएको खण्डमा त्यसको सार्थकता हुने बताउँदै भ्रष्टाचारमा नलिप्त रहन र मुलुकको सम्पत्ति शुद्धीकरणका सन्दर्भमा देशलाई ग्रे लिष्टबाट हटाउनुपर्ने कुरा उठाए। उनले भने, “हामी विकास निर्माणका लागि ठेक्का लगाउँछौँ, कमिसनका लागि होइन।”
कार्यक्रममा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सरकारका मुख्य सचिव एकनारायण अर्याल र अन्य सचिवहरू तथा राष्ट्रसेवक कर्मचारीहरूको सहभागिता रहेको थियो। यसैबीच, ओलीले एमालेको केन्द्रीय कार्यालयले ललितपुरको च्यासलमा आयोजना गरेको जन्मदिनको कार्यक्रममा पनि सहभागी भएका थिए।




























