पोखरा, १२ फागुन। नेपालकै धार्मिक इतिहासमा हालसम्मकै विशाल कोटिहोम महायज्ञ पोखरामा आयोजना गरिने भएको छ। गत श्रावण महिनामा पशुपति मन्दिर परिसरमा सम्पन्न पशुपति कोटिहोम महायज्ञपछि मानव सेवा फाउण्डेसन नेपालले पोखरामा श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञको आयोजना गर्न लागेको हो। ४५ दिने यो महायज्ञ २०८२ साल वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म लेकसाइड क्षेत्रमा आयोजना गरिने छ। पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्षलाई लक्षित गरी महायज्ञ गर्न लागिएको संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ति जी महाराजले जानकारी दिए।

महायज्ञ अवधिभर श्रीमद्भागवत, श्रीराम कथा, शिवमहापुराण, श्री हनुमान कथा तथा श्रीमद्देवी भागवत प्रवचन गरिने छ। लाखौंको ब्रतबन्ध, विवाह, चौरासी पूजा, तुलादान, कोटि दीप प्रज्ज्वलन, तीन सयभन्दा बढी ब्राह्मण गुरुहरूद्वारा हवन, एक करोड पार्थिव शिवलिङ्ग निर्माण, राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, ११ हजार कलश पूजन, हजारौं वालिकाको कन्या पूजन, जेष्ठ नागरिक सम्मान, शास्त्र सम्मेलन, २१ फिट अग्लो रुद्राक्ष शिवलिङ्ग निर्माण जस्ता धार्मिक कार्य सम्पन्न गरिने आयोजक संस्थाले जनायो।

महायज्ञमा शंकराचार्य, जगद्गुरु, विभिन्न अखडाका महन्त, कथा वाचक तथा धर्म गुरुहरूको आगमन हुनेछ। हिन्दू, बौद्ध, जैन, किराँत, मष्टो लगायतका धर्मावलम्बीहरूलाई समेटेर सनातन संसद, धर्म संसद जस्ता कार्यक्रम गरिनेछ। यसै अवसरमा धार्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिने छ। गण्डकी प्रदेशका प्रमुख तीर्थस्थलहरूको फोटो प्रदर्शनी गरिनुका साथै धार्मिक, सांस्कृतिक महत्वको प्रचारप्रसार समेत गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

मानव सेवा फाउण्डेसन नेपालले महायज्ञको आयोजना गर्दैछ। काठमाडौं कलंकीमा केन्द्र रहेको संस्थाले विगत एक दशकदेखि सामाजिक, धार्मिक र आध्यात्मिक क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ। देशभरका ५७ भन्दा बढी जिल्लामा यज्ञमार्फत संकलित रकमबाट विद्यालय, स्वास्थ्य संस्था, क्याम्पस, मठ-मन्दिर निर्माणमा सहयोग पुर्‍याउँदै आएको छ।

संस्थाले गोदावरी नगरपालिकामा मामाघर आश्रम सञ्चालन गरी अभिभावकविहीन बालबालिकाहरूलाई आश्रय दिँदै आएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिकामा ‘छोरीको घर’ ज्येष्ठ नागरिक आश्रम सञ्चालन गरेर सहाराविहीन ज्येष्ठ नागरिकलाई निःशुल्क आश्रय दिइरहेको छ। नेपालभर आश्रम निर्माण गरी बालबालिकाहरूलाई उज्ज्वल भविष्यबाट वञ्चित हुन नदिने तथा ज्येष्ठ नागरिकलाई सडकबास हुन नदिनु संस्थाको मुख्य उद्देश्य रहेको छ आयोजक संस्थाका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ति जी महाराजले जानकारी दिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0