काठमाडौं, १५ फागुन। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार चीनको सहयोगमा बनेको दाबी गरेका छन्। उनले यो सरकार लामो समय टिक्न नसक्ने र मुलुकमा नयाँ बहुलराष्ट्रिय राज्य प्रणालीको माग तीव्र बनेको बताएका छन्।

केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महतोले वर्तमान सरकार आफ्नो पार्टीका ‘आसेपासे र नेताहरूलाई’ खुसी पार्नमा मात्रै केन्द्रित भएको उल्लेख गरे। उनले ओली नेतृत्वको सरकार जस्तै कांग्रेस–एमाले गठबन्धन पनि अस्थिर हुने दाबी गरे।

महतोले नेपाली कांग्रेसलाई दक्षिणपन्थी ध्रुवमा सीमित भएको भन्दै लोकतन्त्रलाई औपचारिकताको सीमित घेरामा मात्र राख्ने अनुदार कन्जर्भेटिभ पार्टी को रूपमा चित्रण गरे। कांग्रेसले वर्णीय–वर्गीय स्वार्थ सुरक्षित गर्न सामाजिक न्याय र बहुसांस्कृतिक सुधारको पक्षपोषण नगरेको उनको भनाइ थियो।

त्यस्तै, उनले नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई अवसरवादी चरित्र प्रदर्शन गर्ने पार्टीको रूपमा चित्रित गरे। एमालेले आफ्नो अस्तित्व जोगाउन जुनसुकै सम्झौता गर्न पछि नपर्ने र उत्पीडित राष्ट्रियताका नेताहरूले पार्टीबाट सधैं टाढिने क्रम जारी रहेको उनले जनाए।

महतोले माओवादी केन्द्रलाई निम्न पुँजीवादी संशोधनवादमा फसेको टिप्पणी गरे। उनले प्रचण्ड नेतृत्वको पार्टीले सत्ता स्वार्थका लागि जनयुद्धका मुद्दा त्यागेको र उत्पीडित जनताको विश्वास गुमाएको दाबी गरे।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लाई उनले व्यक्तिगत विवादकै कारण एमालेबाट विभाजित भएको समूह मात्र भएको टिप्पणी गरे। नेकपा (विप्लव) को राजनीति संसदीय प्रणालीमा प्रवेश गर्ने दिशामा रहेको उनले उल्लेख गरे।

मधेसी शक्तिहरूले मधेस आन्दोलनबाट राजनीतिक मान्यता पाए पनि उनीहरू निम्न पुँजीवादी अवसरवादमा फसेको महतोको निष्कर्ष छ।

महतोले वर्तमान राजनीतिक संकटको जरो ऐतिहासिक गोर्खाली औपनिवेशिक संरचना भएको बताउँदै राष्ट्रिय मुक्तिको लागि नयाँ बहुलराष्ट्रिय राज्य प्रणाली आवश्यक रहेको उल्लेख गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0