पोखरा, १५ फागुन। नेपाली महिला फुटबल टोलीको प्रदर्शनले पछिल्लो समय देशभित्र र विदेशमा व्यापक चर्चा बटुलिरहेको छ। दशरथ रंगशालामा सम्पन्न चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल हेर्न १६ हजारभन्दा बढी दर्शक उपस्थित भए भने टेलिभिजन तथा डिजिटल मिडियामार्फत ५० लाखभन्दा धेरै दर्शकले यो खेल हेरेको अनुमान गरिएको छ।

बिबिसीका अनुसार नेपाली महिला फुटबलको यो लोकप्रियता लामो मेहनतको परिणाम हो। पछिल्ला केही वर्षमा नेपाली महिला खेलाडीहरूले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पश्चिम एशियाली फुटबल प्रतियोगिता ‘वाफ विमिन्स च्याम्पियनसिप’मा नेपालको प्रभावशाली यात्राले टोलीलाई दक्षिण एशियाबाट माथिल्लो स्तरमा चिनायो। त्यसपछि घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलसम्म पुगेपछि महिला फुटबलप्रति दर्शकको चासो झनै बढेको छ।

नेपाली टोलीका स्टार खेलाडीहरूको उदयले पनि यसमा महत्त्वपूर्ण भूमिका खेलेको छ। सावित्रा भण्डारी ‘साम्बा’लाई ‘गोल मेशिन’का रूपमा चिन्न थालिएको छ भने प्रीति राई, रेखा पौडेल, अन्जिला तुम्बाप्पो सुब्बा, अनिता बस्नेतजस्ता खेलाडीहरूको नाम समर्थकको मुखमा झुन्डिन थालेको छ। सोशल मिडियामा यी खेलाडीहरूको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ।

बिबिसीका अनुसार नेपाली खेलाडीहरूको व्यावसायिक यात्राले पनि दर्शकको मन तान्न महत्त्वपूर्ण भूमिका खेलेको छ। सावित्रा भण्डारी फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी छिन् भने एन्जिला सुब्बा ग्रीसको लिगमा आबद्ध भएकी छन्। त्यस्तै, रेखा पौडेल दुबईमा व्यावसायिक फुटबल खेल्दै छिन्। भारतीय महिला लिगमा समेत नेपाली खेलाडीहरूको उपस्थिति उल्लेख्य छ।

अर्को महिना नेपालले एशियन कप, विश्वकप र ओलिम्पिक छनोट खेल्न लागेको छ। हालसम्म देखिएको दर्शकको साथ र टोलीको आत्मविश्वास हेर्दा आगामी प्रतियोगितामा पनि नेपाली महिला फुटबल टोलीले ठूलो समर्थन पाउने आशा गर्न सकिन्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0