पोखरा, १५ फागुन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘धनी’ आप्रवासीहरूका लागि विशेष आप्रवासन योजना सार्वजनिक गरेका छन्। नयाँ योजनाअन्तर्गत ५० लाख अमेरिकी डलर खर्च गर्ने आप्रवासीहरूले ‘गोल्ड कार्ड’ प्राप्त गर्नेछन्, जसले अमेरिकी नागरिकताको मार्गसमेत खोल्नेछ।
बिबिसीका अनुसार उक्त योजनाबाट अमेरिका प्रवेश गर्नेहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्दै सार्वजनिक ऋण न्यून गर्न सकिने ट्रम्पको दाबी छ। उनले यस योजनाबाट ‘उत्कृष्ट मानिसहरू’ अमेरिका भित्रिने बताएका छन्। आलोचकहरूका अनुसार यसले रुसी धनाढ्यहरूलाई पनि अमेरिकी नागरिकता प्राप्त गर्न मार्ग प्रशस्त गर्न सक्छ।
ट्रम्पले आप्रवासन नीतिमा कडिकडाउ अपनाउने रणनीति लिएका छन्। राष्ट्रपति बनेपछि उनले ‘जन्मका आधारमा नागरिकता’ समाप्त पार्ने कार्यकारी आदेश जारी गरेका थिए। यद्यपि, एक संघीय न्यायाधीशले उक्त आदेश असंवैधानिक भएको भन्दै कार्यान्वयनमा अस्थायी रोक लगाएका छन्।
बिबिसीका अनुसार ट्रम्प प्रशासनले गैरकानुनी आप्रवासीहरूलाई देशनिकाला गर्ने अभियान तीव्र बनाएको छ। यसै क्रममा क्युबास्थित अमेरिकी सैनिक बन्दीगृह ‘ग्वान्टनामो बे’ मा विशेष हिरासत केन्द्र बनाइने घोषणा गरिएको छ। ट्रम्पले त्यहाँ ३० हजार गैरकानुनी आप्रवासीलाई राख्ने योजना सार्वजनिक गरेका छन्।
यसैबीच, अमेरिकी आप्रवासन नीतिको पुनर्संरचनाले विश्वभरि तरंग उत्पन्न गरेको छ। ट्रम्प प्रशासनको नीति अमेरिका प्रविष्टि गर्न चाहने गरिब आप्रवासीहरूका लागि कठिन बन्ने देखिएको छ।




























