पोखरा, १५ फागुन। पोखरा-मुग्लिन सडकखण्डको स्तरोन्नतिले तीव्रता पाएपछि यात्रुहरूलाई सहज भएको छ। पहिले सात-आठ घन्टासम्म लाग्ने यात्रा अहिले दुई घन्टा हाराहारीमा सकिन थालेको छ। पृथ्वी राजमार्गअन्तर्गत ८१ किलोमिटर लामो यो सडक एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति तथा विस्तार भइरहेको छ।

बिबिसीका अनुसार, पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजित यो सडकखण्डको पूर्वी भागको ७७.७ प्रतिशत र पश्चिम भागको ४२.४३ प्रतिशत भौतिक प्रगति पूरा भइसकेको छ। पश्चिम खण्डमा ४ लेनको १८ मिटर चौडा सडक १२ किलोमिटर, २३ मिटर चौडा सडक ८.५ किलोमिटर तथा ६ लेनको ४६ मिटर चौडा सडक १८.३ किलोमिटर निर्माण भइरहेको छ। यस खण्डमा १२ पुल निर्माणाधीन छन्, जसमा सेती नदीमाथि दुई ठूला पुल समेत रहेका छन्।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँ लागतमा पश्चिम खण्डको निर्माण जिम्मा लिएको हो। सुरुआतमा ढिलाइ भए पनि पछिल्लो समय निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको सूचना अधिकारी सौजन्य नेपाल बताउँछन्। उनका अनुसार, बिजुलीका पोल व्यवस्थापनमा केही चुनौती रहेपनि निर्माण व्यवसायीहरूले पूर्ण क्षमतामा काम गरिरहेका छन्।

पूर्वी खण्डमा हालसम्म अधिकांश स्थानमा कालोपत्र भइसकेको छ। बिबिसीका अनुसार, ४ लेनको १५.५ किलोमिटर र २ लेनको १२.७३ किलोमिटर सडकमा दोस्रो तहको कालोपत्र पूरा भइसकेको छ। तनहुँको दमौली बजार क्षेत्रमा ६ लेनको सडक निर्माण भइरहेको छ, जसको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ।

दमौली बजार क्षेत्रमा समेत अहिले कालोपत्र गर्न थालिएको छ। नगरपालिकाले सडक मापदण्डअन्तर्गत रहेका संरचना हटाएपछि व्यास नगरपालिका–२ बागबजार क्षेत्रमा एकतर्फी कालोपत्र सुरु भएको हो। बिबिसीका अनुसार, पहिलो चरणमा एकतर्फी सडक कालोपत्र गर्ने र त्यसपछि अर्कोतर्फ गर्ने योजना रहेको छ।

निर्माण कार्य तीव्र भएपछि पोखरा आवतजावत गर्ने यात्रु तथा व्यवसायीहरू उत्साहित छन्। पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीका अनुसार, सडक सुधार भएपछि पोखराको पर्यटन क्षेत्र, आर्थिक गतिविधि र समग्र गण्डकी प्रदेशलाई सकारात्मक प्रभाव पर्नेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0