पोखरा, १६ फागुन। महाशिवरात्रि पर्व सम्पन्न भएसँगै पशुपति क्षेत्रको सफाइ अभियान सुरु गरिएको छ। हजारौँ भक्तजनको सहभागिताका कारण थुप्रिएको फोहर व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले सफाइ कार्यलाई तीव्रता दिएको छ।
कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार केही दिनमै सफाइ कार्य पूरा गरिनेछ। महाशिवरात्रि सकिए पनि पशुपति क्षेत्रमा आजसमेत भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। विशेषगरी, महाशिवरात्रिका दिन भिडभाडका कारण मन्दिरभित्र प्रवेश गर्न नपाएका भक्तजन आज दर्शनका लागि पुगेका छन्।
यसैबीच, पशुपति क्षेत्रमा अझै साधुसन्तहरूको चहलपहल जारी छ। उनीहरूका लागि पशुपति क्षेत्र विकास कोष, गुठी संस्थानलगायत विभिन्न संघसंस्थाले खाने, बस्ने र धुनी जगाउने व्यवस्था मिलाएका छन्।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार साधुसन्तलाई दक्षिणा वितरणको प्रक्रिया शुक्रबार बिहान ११ बजेदेखि सुरु गरिनेछ। गच्छेअनुसार दक्षिणा दिइने व्यवस्था मिलाइएको छ। कोष र गुठी संस्थानले छुट्टाछुट्टै रूपमा साधुसन्तका लागि दक्षिणाको व्यवस्था गर्ने जनाइएको छ।




























