पोखरा, १६ फागुन। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा राजनीतिक दलसम्बन्धी विधेयकलाई शीघ्र अगाडि बढाउने विषयमा छलफल भएको छ। शुक्रबार साँझ सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा निर्वाचनसम्बन्धी विधेयक र दलसम्बन्धी विधेयकबारे गहन छलफल भएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले निर्वाचन विधेयकबारे गृह तथा कानुन मन्त्रालयले काम गरिरहेको जानकारी दिए। साथै, दलसम्बन्धी विधेयकका केही दफाहरू हाल स्थगनमा रहेकाले त्यसलाई पुनः अगाडि बढाउने विषयमा छलफल भएको बताए।
बैठकमा स्ववियू निर्वाचनलाई कसरी अगाडि बढाउने र नेविसंघलाई कसरी जिताउने भन्ने विषयमा समेत छलफल भएको घिमिरेले जानकारी दिए। पाथीभरा केबलकार विवाद र सरकारले ल्याएका ६ अध्यादेशबारे थप छलफल प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुने बैठकमा निष्कर्ष निकालिएको छ।
कांग्रेसले सरकारको समीक्षाबारे सकारात्मक धारणा बनाएको र केही विधेयकहरू तत्काल अघि बढाउने योजनामा रहेको बैठकले निष्कर्ष निकालेको छ।




























