पोखरा, १९ फागुन। नेकपा एमालेको उच्च तहमा पुनः सक्रिय हुने संकेत दिँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार एक महत्त्वपूर्ण कार्यक्रममा देखिइन्। ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक विमोचन समारोहमा उनी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मञ्चमा उपस्थित भइन्। राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा आयोजित सो कार्यक्रममा महासचिव शंकर पोखरेलको समेत उपस्थिति रह्यो, जसले एमालेभित्रको शक्ति सन्तुलन र भावी नेतृत्वबारे थप चासो बढाएको छ।
गणेश पाण्डेले सम्पादन गरेको यो पुस्तक आइतबार मात्र सार्वजनिक भएको हो। एमालेको प्रचार विभागमा सचिवका रूपमा नियुक्त भएका पाण्डे प्रेस चौतारीको सम्भावित नेतृत्वका रूपमा पनि हेरिएका छन्। चैत १० गतेदेखि विराटनगरमा आयोजना हुने चौतारीको महाधिवेशनलाई ध्यानमा राख्दै पाण्डेको पदोन्नतिले अन्य प्रतिस्पर्धीहरूलाई सहज बनाएको बताइन्छ।
पुस्तक विमोचन समारोहलाई एमाले एकताको संकेतका रूपमा व्याख्या गर्न थालिएको छ। पछिल्ला दिनमा भण्डारीलाई पुनः पार्टी नेतृत्वमा फर्काउनेबारे छलफल तीव्र बनेको छ। बहुमत सचिवालय सदस्यहरू, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू उनको पुनरागमनको पक्षमा छन्। महासचिव पोखरेलसहितका केही नेताहरू भने ओली नेतृत्वलाई निरन्तरता दिने सोचमा छन्।
एमालेकै केही नेताहरूले भण्डारी नेतृत्वमा आएमा अन्य वाम घटकहरू समेत एक हुने सम्भावना रहेको विश्लेषण गरिरहेका छन्। उत्तरी छिमेकीको समेत सहानुभूति रहँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसमेत एउटै मञ्चमा आउन सक्ने अनुमान गरिएको छ। यसैबीच, पार्टीबाट निष्काशित भएका पूर्वउपाध्यक्ष भीम रावलसमेत एमालेमा पुनः फर्कन सक्ने आँकलन गरिएको छ।
पुस्तक विमोचन समारोहमा ओलीको राजनीतिक संघर्षदेखि समृद्धिका लागि उनले चालेका कदमलाई प्रस्तुत गरिएको बताइन्छ। पुस्तकमा विभिन्न राजनीतिज्ञ, अर्थविद् र सामाजिक व्यक्तित्वका विचारहरू समेटिएका छन्। अल्केमी प्रकाशनद्वारा प्रकाशित सो पुस्तकलाई पार्टी वृत्तमा ओलीको योगदानलाई उजागर गर्ने नयाँ पहलका रूपमा हेरिएको छ।





























