पोखरा, २० फागुन। नेकपा एमालेले आफ्ना जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको संख्या कटौती गरेको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले जनसंगठन समन्वय संयन्त्रको सिफारिसअनुसार अधिकतम १५० र न्यूनतम ९९ सदस्यीय जनसंगठन बनाउने निर्णय गरेको हो। पदाधिकारी संख्यालाई १७ बाट घटाएर ९ मा झारिएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टीलाई थप प्रभावकारी बनाउन संख्यात्मक हिसाबले कम गर्दै गुणस्तरीय नेतृत्व विकास गर्ने लक्ष्य लिइएको छ। उनले विगतमा संख्यात्मक वृद्धिले पार्टी संरचनालाई भारी बनाएको र कार्यसम्पादनमा ढिलाइ भएको उल्लेख गर्दै अहिलेको निर्णयले संगठनलाई छरितो बनाउने बताए।

एमाले नेता विष्णु रिजालले जनसंगठनका पदाधिकारी तथा सदस्यहरूको संख्या कटौती गर्दै गुणस्तरीय नेतृत्व उत्पादन गर्ने उद्देश्य राखिएको जानकारी दिए। उनले जम्बो कमिटीका कारण बैठकहरू मात्र हुने र कार्यान्वयनमा समस्या देखिएकाले अब छोटो संरचनाले गति दिने बताए।

एमालेमा यसअघि पनि पदाधिकारी संख्यामा कटौती गरिएको थियो। तर, पछिल्लो महाधिवेशनपछि पुनः जम्बो कमिटी बनाइएको थियो। यसपटक सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय सदस्य गरी ३५६ सदस्यीय कमिटीलाई पनि पुनरावलोकन गरिने सम्भावना रहेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट स्रोतका अनुसार माओवादीसँग एकतापछि एमालेमा जम्बो कमिटी बनाउने प्रवृत्ति आएको थियो। अहिले फेरि पार्टीलाई छरितो बनाउने रणनीति अवलम्बन गर्दै विधान अधिवेशनमा यसबारे थप निर्णय हुन सक्ने बताइएको छ।

पार्टी सचिव पद्मा अर्यालका अनुसार जनसंगठनको संख्यामा गरिएको परिवर्तन आगामी विधान अधिवेशनपछि मूल पार्टी संरचनामा पनि लागू हुन सक्छ। एमालेको विधान अधिवेशन आगामी भदौमा तय गरिएको छ, जसमा पार्टी कमिटीको आकारबारे थप छलफल हुने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0