भैरहवा, २० फागुन। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको बताएका छन्। उनले सरकार सञ्चालनमा दुई पार्टीबीच कुनै मतभेद नरहेको समेत स्पष्ट पारे। सोमबार कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भैरहवामा शुरू भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशाको सञ्चार भएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच सरकार सञ्चालन विषयमा सम्झौता भए पनि, दुई तिहाइको सरकार बने पनि अध्यादेश पारितका लागि पूर्ण रूपमा बहुमत नपुगेको उनको भनाइ छ। उनले गठबन्धनको सरकारलाई सबैले एकताबद्ध रूपमा सहयोग गर्नुपर्ने आवश्यकता पनि औंल्याए। उनले सरकारमा अन्य पार्टीहरू पनि समावेश रहेको उल्लेख गर्दै प्रजातन्त्रमा प्रतिस्पर्धी पार्टी पनि आवश्यक रहेको बताए। उनले नेपाली कांग्रेसमा विभिन्न किसिमका मतभेद हुन सक्ने भए पनि ती कुराहरूलाई आपसी छलफलबाट समाधान गर्न सकिनेमा जोड दिए। नेपाली कांग्रेस देशको ठूलो पार्टी भए पनि बहुमत प्राप्त पार्टी नभएकाले प्रशिक्षणबाट पार्टीलाई बहुमतप्राप्त पार्टी बनाउन सहयोग पुग्नेमा देउवाको विश्वास छ।

प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा देशैभरिका प्रतिनिधिसभाअन्तर्गतका एक सय ३० जना सहभागी छन्। साथै, सोही संख्यामा क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण शाखा प्रमुख तथा एउटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेशसभा अन्तर्गतका क्षेत्रीय सभापति ७० जना गरी जम्मा तीन सय ३० जनाको सहभागिता रहेको नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए। संयोजक खड्काले त्यसअवसरमा पार्टीसँग जोडिएका विषय, पार्टीका महत्त्वपूर्ण काम, २०४६ सालपछि नेपाली कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधार, संविधान, संघीयताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अभियान, पार्टी संगठनसँग जोडिएका विषय र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रसँग जोडिएका अन्तरसम्बन्धका विषयबारे प्रस्तुति रहने बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0