पोखरा, २२ फागुन। नेकपा माओवादी केन्द्रले सञ्चालन गरिरहेको ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’ को कार्यतालिका हेरफेर गरेको छ। पार्टीका जनसंगठनका भेलालगायतका कार्यक्रम परेकाले तालिकामा परिमार्जन गरिएको माओवादी केन्द्रले जनाएको छ। संशोधित कार्यक्रमअनुसार अभियान अन्तर्गत विभिन्न जिल्लामा नयाँ मितिमा कार्यक्रम आयोजना गरिनेछ।
नयाँ कार्यतालिका अनुसार फागुन २२ गते महोत्तरीमा कार्यक्रम हुनेछ भने फागुन २३ गते सर्लाही, २४ गते रौतहट, २५ गते बारा र २६ गते पर्सामा अभियान सञ्चालन गरिनेछ। त्यसपछि फागुन २७ गते चितवनमा कार्यक्रम तय गरिएको छ। यसैबीच, फागुन २८ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मगर मोर्चाको उद्घाटन कार्यक्रममा सहभागी हुन बुटवल जानेछन्।
चैत महिनामा पनि अभियान निरन्तर रहनेछ। चैत २ गते नवलपुर (नवलपरासी पूर्व), ३ गते परासी (नवलपरासी पश्चिम), ४ गते रुपन्देही, ५ गते कपिलवस्तु, ६ गते दाङ, ७ गते बाँके र ८ गते बर्दियामा कार्यक्रम गरिनेछ। त्यस्तै, चैत ९ गते जनकपुरमा समाजवादी मोर्चाको जनसभा हुनेछ।
अभियान अन्तर्गत सुदूरपश्चिममा चैत ११ र १२ गते कार्यक्रम आयोजना गरिनेछ। चैत ११ गते कैलाली र १२ गते कञ्चनपुरमा कार्यक्रम गर्दै अभियान समापन गरिनेछ। यसअघि, माओवादीले फागुन ५ र १७ गते अभियानको तालिका सार्वजनिक गरेको थियो।





























