पोखरा, २२ फागुन। अफगानिस्तानका उत्कृष्ट अलराउण्डर अजमतुल्लाह ओमरजाई आईसीसी एकदिवसीय वरियताको शीर्ष स्थानमा पुगेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार ओमरजाई दुई स्थान उक्लँदै पहिलो स्थानमा उभिएका हुन्। यसअघि अफगानिस्तानकै अनुभवी अलराउण्डर मोहम्मद नाबी शीर्षस्थानमा थिए, तर नयाँ सूचीअनुसार उनी दोस्रो स्थानमा झरेका छन्।

ओमरजाईले हाल भइरहेको च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले तीन खेलमा १२६ रन बनाउनुका साथै सात विकेट लिएका थिए। इंग्ल्याण्डविरुद्धको खेलमा उनले पाँच विकेट लिँदै म्याच विनिङ प्रदर्शन गरेका थिए, जसका कारण उनको वरियतामा उल्लेखनीय सुधार भएको हो।

आईसीसीको नयाँ वरियताअनुसार ओमरजाईको रेटिङ २९६ पुगेको छ, भने नाबीको २९२ र जिम्बाब्वेका सिकन्दर राजाको २९० रेटिङ रहेको छ। चौंथो स्थानमा बंगलादेशका मेहदी हसन मिराज, पाँचौं स्थानमा न्यूजिल्याण्डका मिचेल सान्टनर तथा छैटौं स्थानमा अफगानिस्तानकै राशिद खान रहेका छन्। सातौं स्थानमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, आठौंमा नामिबियाका ब्रान्डन माकमुलेन, नवौंमा भारतका रविन्द्र जडेजा र दशौं स्थानमा नामिबियाका कप्तान जेरार्ड एरासमस परेका छन्।

नेपाली खेलाडीहरूको प्रदर्शनलाई हेर्दा पछिल्लो समय कुनै अन्तर्राष्ट्रिय खेल नखेलेका कारण वरियतामा ठूलो परिवर्तन भएको छैन। एकदिवसीय अलराउण्डर वरियतामा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने समान १३२ रेटिङसहित ५८ देखि ६०औं स्थानमा रहेका छन्। ब्याटिङतर्फ आसिफ शेख ८७औं, कुशल भुर्तेल ९१औं तथा कप्तान रोहित पौडेल ९४औं स्थानमा उभिएका छन्। बलिङतर्फ सन्दीप लामिछाने ४८औं तथा ललित राजवंशी ५५औं स्थानमा छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0